टेकोकै भरमा अडेको कुमारी घर

टेकोकै भरमा अडेको कुमारी घर
बुधबार, माघ २९, २०७६

सरस्वती श्रेष्ठ/स्वस्तिका श्रेष्ठ
काठमाडौं । विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौंको बसन्तपुरमा रहेको जीवित देवी कुमारीको घर साढे ४ वर्षदेखि जीर्ण अवस्थामा छ ।

टेकोको भरमा अडिएको यो घर २०७२ साल बैशाख १२ गतेको भूकम्पपछि जोखिममा परेको हो । तर भूकम्पपछिको साढे ४ बर्षमा पनि यो घर टेकोविहिन हुन सकेको छैन । जसले ३ सय वर्ष इतिहास बोकेको संस्कृति समेत संकटमा परेको छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर क्षेत्रमा पर्ने यो जीवित कुमारीको घरको इतिहास तीन सय बर्ष पूरानो छ । जीवित कुमारीको यो घर, काठमाडौं उपत्यकालाई तीन सय बर्षदेखि सांस्कृतिक अन्तर्घुलनमा राखिरहने एउटा धरोहर समेत हो ।

तर यो धरोहर सरोकारवालाको वेवास्तामा पर्दा साढे ४ बर्षदेखि जोखिममा छ । अर्थात तीन सय बर्ष भन्दा बढीको इतिहास बोकेको कुमारी घर भूकम्पपछि टेकोको भरमा उभिरहेको छ । विश्व भरी जीवित देवीको रुपमा प्रख्यात कुमारीको घर भुकम्पले जीर्ण बनाएपछि टेकोको भरमा राखिदा धराप थापिएको जस्तो सन्देश गइरहेको छ ।

जीवित देवी कुमारीको दर्शन गर्न यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । टेकोले अडिएको जीवित कुमारीको घरमा मानिसहरुको चापले अझ बढी जोखिम निम्त्याएको छ ।

तर पनि यसको पुनःनिर्माणमा सरोकारवाला गम्भीर हुन सकेका छैनन । काठमाडौं महानगरपालिका, गुट्ठी संस्थान, पुरात्तत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको हरेक पटकको बैठकमा कुमारी घर पुनःनिर्माणको विषय चर्चामा आए पनि त्यसको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल कायमै छ ।

९० सालको भूकम्पपछि कुमारीको लेखाजोखा राख्दा अहिले सम्म यही घरबाट करिब ४७ जना कुमारीहरु परिवर्तन भईसकेका छन् । भूकम्प गएको साढे ४ वर्ष बित्न लाग्दा कुमारी घरलाई कसले पुनर्निर्माण गर्ने भन्नेबारे टुङ्गो लाग्न सकेको छैन ।

तर, महानगरपालिका नजिक भएकाले यसको जिम्मेवारी पनि उसैले लिनेमा कुमारी घरमा आबद्ध भएकाहरु विश्वस्त देखिन्छन ।

नेपाल भ्रमण वर्ष समेत चलिरहँदा काठमाडौंको बसन्तुपर सायदै मानिसहरुले मात्र छुटाउने स्थानमा पर्छ । तर सोही बसन्तपुरमा रहेको जीवित कुमारी घरको हालत भने ५ बर्षदेखि धराप थापेजस्तो हुनु आफैंमा लज्जास्पद छ ।

यसर्थ यसको जतिसक्दो छिटो पुनःनिर्माण गरी संसारसामु जान सक्ने नकारात्मक सन्देशलाई रोक्न सरोकारवाला निकाय गम्भीर हुन जरुरी छ ।