झापामा ओरियन्सको ठगी धन्दा, नेटवर्किङ्गमा फस्दै नेपाली युवाहरु

झापामा ओरियन्सको ठगी धन्दा, नेटवर्किङ्गमा फस्दै नेपाली युवाहरु
बिहिबार, फाल्गुन १, २०७६

शिशिर चम्लागाई

झापा–धेरै पैसा कमाई हुने आशामा नेपाली युवाहरु नेटवर्किङ्ग कामका लागि भारतको विभिन्न ठाँउहरुमा जाने क्रम बढेको छ ।

यसरी नेटवर्किङ बिजनेस र ओरियन्स कम्पनीमार्फत कमाउन भारत गएका युवाहरु ठगिएर बेहाल भएपछि फर्कने गरेका छन् । खासगरी १६ देखी ३० वर्षका युवाहरु नेटवर्किङ्गको लागि भारतमा जाने र फस्ने क्रम बढेको पाईएको छ । ठगिएका युवाहरुले आफ्नो लगानी उठाउने माध्यमसमेत नेपाली यूवालाई नै बनाउँदा इलाका प्रहरी कार्यालय काकडभिट्टामा दैनिक १० भन्दा बढी युवा समातिने गरेका छन् ।

उनीहरुलाई प्रहरीले परामर्श गरी घर फर्काउने गरेको छ । ओरियन्स नामक कम्पनीले औषधीजन्य उत्पादनलाई खरिद गर्ने र विक्रि वितरण गर्न लगाउने गरेको छ । विक्रिको मात्राको आधारमा पद निर्धारण गर्ने बताउनेगरेको कम्पनीले भविश्यमा कामै नगरीखान पुग्ने सपना बाड्दै फसाईरहेको छ । कम्पनीले नेपलामा प्रतिबन्ध लगाएका तथा ल्याव टेस्ट समेत नभएका औषधी युवाहरुमार्फत बेचिरहेका छन् ।

ओरियन्स तथा अन्य कम्पनीका यस्ता गैरकानुनी औषधी लुकाएर ल्याएको अवस्थामा सशस्त्र प्रहरी बल नम्बर ८ राजस्व तथा भन्सार सुरक्षा गुल्म काँरकभिट्टाले नियन्त्रणमालिने गरेको छ । हालसम्म २० लाख मूल्य बराबरको औषधी बरामद गरिएको छ भने त्यस्तै मात्रामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा मेची भन्सार कार्यालयले पनि नियन्त्रणमा लिएको छ ।

नेपालमा काम नपाएर खोज्दा साथीभाको सल्लाहमा छिट्टै, धेरै पैसा कमाउने काम रोज्दा नेटवर्किङ भित्र परेको पिडितहरुको भनाई छ ।
छोटो समयमै धेरै पैसा कमाउन भारत परेका उनीहरु रित्तो भएर घर फर्किन नसक्ने भएपछि अझ बढि तनावमा छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुमध्ये धेरै जना डिप्रेसनको विरामी भइसकेका छन् । नेटवर्किङ्गमा पैसा फसेपछि आफ्नो पैसा उकास्न अरुलाई फसाउने, ल्याब टेस्ट नगरिएका औषधी खुवाउने र विरामी झन् विरामी हुने अवस्था छ । प्रहरी अनुसन्धानमा धेरैजसो साथीभाइकै लहैलहैमा नेटवर्किङको जन्जालमा फस्नेगरेको पाईएको इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक, राजेन्द्र पोखरेल वताउनुहुन्छ ।

हजारौको संख्यामा नेपाली युवाहरु नेटवर्किङ कामका लागी गएको जानकारी पाएको वताउदै उहाँले यस्तो कार्य नियन्त्रणका लागी प्रहरीले माघबाट विशेष निगरानी राख्न थालेको वताउनुभयो ।

सजिलै र धेरै पैसा कमाउने लोभमा नेपाली युवाहरु यसरी भारतमा ठगीने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । ओरियन्स, ओमेगा, मोग्नेजा, आरसिएम, सेमी डाइरेक्ट लागायतका कम्पनीका नाममा नेपालमा समेत विस्तारित यस्ता नेटवर्किङ्ग धन्दाको पवूरा प्रभाव भने अझै देखिइसकेको छैन ।

भारतका सिलिगुडी, पानीट्याङ्कीसहितका ठाँउहरुमा ओरियन्समा काम गर्ने नेपालीहरु मात्र बस्ने होस्टल नै चलाइएका छन । ठगिकै लदागि नेपालमा समेत होस्टल चलाएर तालिम दिँदा प्रशासन मौन बसेकाले धेरै युवाहरु नेटवर्किङमा फसेका छन् ।