भ्यालेन्टाईनका लागि १ करोड बढिको गुलाफ आयात

भ्यालेन्टाईनका लागि १ करोड बढिको गुलाफ आयात
बिहिबार, फाल्गुन १, २०७६

शान्ता लम्साल

काठमाडौं– नेपाल फ्लोरिकल्चर एसोसिएशनले प्रणय दिवसमा झण्डै १ करोडभन्दा बढी रुपैयाँको गुलाफको फूल आयात गरिएको जनाएको छ ।

नेपाली उत्पादनमा कमी तथा बजारको बढ्दो माग भएका कारण भारतबाट यस वर्ष डेढ लाख स्टिम गुलाफको फूल आयात भएको जनाएको हो ।

‘भ्यालेन्टाइनको समयमा बजारमा वर्षेनी २ लाख स्टिम गुलाफको माग हुने गरेको छ ।’, फ्लोरिकल्चर एसोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष मिन बहादुर तामाङ भने, ‘काठमाडौं उपत्यकामा मात्र १ लाख ४० हजार गुलाफको फुल खपत हुन्छ भने उपत्यका बाहिर झण्डै ६० हजारको हाराहारीमा खपत हुन्छ । ’

तर माग धेरै भएपनि नेपालको आफ्नै उत्पादनले भने माग थेग्न सक्दैन । नेपालमा यस मौसममा ५० हजार स्टिम गुलाफको फुल मात्र उत्पादन हुने गरेको छ भने माग धान्नको लागि १ लाख ५० हजार स्टिम गुलाफ भारतबाट आयात हुने गरेको छ । गतवर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्न गएको हो । गत वर्ष १ करोड २५ लाख रुपैयाँको गुलाफ भारतका विभिन्न शहरबाट आयात भएको थियो

त्यसो त नेपालमा गुलाफको फुलको उत्पादन नै नहुने भने होइन । अन्य समयमा मागको ८० प्रतिशत आन्तरिक उत्पादनबाट परिपूर्ति हुने गरेको छ । तर चिसो मौसमका कारण यस मौसममा भने भारतबाट फुल आयात गर्नुपर्ने बाध्यता छ ।
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा विशेष महत्वका साथ यो दिवस मनाइने गरिएको छ । दिवस नजिकिएसँगै फूल व्यावसायीहरु भने उत्साहित देखिएका छन् ।

नेपालमा बार्षिक २० करोड रुपैयाँ बराबरको गुलाफको फूलको कारोबार हुने गरेको छ । पे्रम दिवसकै लागी भने २ करोड रुपैयाँको कारोबार हुने गर्दछ ।

बजारमा प्रति गुलाफ ७० देखि १ सय रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउनेछन् ।