जुमानुको ह्याट्रिकसँगै पुलिसको जीत

जुमानुको ह्याट्रिकसँगै पुलिसको जीत
बिहिबार, फाल्गुन १, २०७६

काठमाडौं । शहीद स्मारक ए डिभिजन फुटबल लिगमा जुमानु राईको ह्याट्रिकसँगै आजको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ ।

आज सातदोबाटोस्थित एन्फा मैदामा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो । फ्रेन्ड्सविरुद्ध पुलिसले ३ गोल गर्दा अनुभवी खेलाडी जुमानु राईले ह्याट्रिक गरेका हुन् ।

उनले खेलको ४९, ५६ र ८५औं मिनेटमा गोल गर्दै राईले ह्याट्रिक पुरा गरेका हुन् । यो जीतसँगै १३ खेल खेलेको पुलिस शीर्ष पाँचमा रहेको छ भने पराजित फ्रेन्ड्स १४ अंकसहित १०औं स्थानमा रहेको छ ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा एपीएफ र ब्रिगेड ब्वाईजले एक एक गोलको बराबरी खेलेका छन । एन्फा कम्प्लेक्समा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा एपीएफले ब्रिगेडसँग बराबरी खेल्दै एक एक अंक बाँडेको हो । खेलको ४४औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

खेलमा थप गरिएको इन्जुरी समयको तेस्रो मिनेटमा ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेल १/१ को बराबरीमा ल्याएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाएका हुन ।

ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोड्यो । र, एपीएफ यो सिजनको लिगको १२औं स्थानमा रह्यो । १३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३औं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।