प्रेमको त्यो बलिदान : रातो गुलाब दिएर प्रेमलाई प्रगाढ बनाउनेतर्फ रुपान्तरण !

प्रेमको त्यो बलिदान : रातो गुलाब दिएर प्रेमलाई प्रगाढ बनाउनेतर्फ रुपान्तरण !
शुक्रबार, फाल्गुन २, २०७६

काठमाडौं- विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् ।

यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् ।

“विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।

मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ । जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ ।

युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ ।

प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । प्रणय दिवसका लागि यस वर्ष भारतबाट एक करोड ५० लाख रुपियाँको एक लाख ६० हजार ‘स्टिम’ गुलाब आयात गरिएको छ ।

माग बढेकाले गत वर्षको तुलनामा गुलाबको मूल्य बढेको कारण धेरै परिमाणमा फूल आयात गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

उनले यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन हुने बताए। एसोसिएसनका अनुसार गुलाब फूलको अन्तर्राष्ट्रिय रूपमा नै मूल्य बढेकाले यस वर्ष मूल्य वृद्धि हुनेछ । गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपियाँसम्म तिरेका उपभोक्ताले यस वर्ष बढीमा सय रुपियाँसम्म तिर्नुपर्नेछ ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट शुरू भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए ।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागिइन भ्यालेन्टाको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।