भृकुटीमण्डपमा ब्रम्हलुट : एक स्टलको भाडा मासिक ५ सय मात्र !

भृकुटीमण्डपमा ब्रम्हलुट : एक स्टलको भाडा मासिक ५ सय मात्र !
शुक्रबार, फाल्गुन २, २०७६

सन्तोष विकेथापा

काठमाडौ-काठमाडौंको केन्द्रभागमा रहेको ४ सय १२ रोपनी जग्गा कौडीको भाउमा प्रयोग हुँदै आएको छ ।

समाज कल्याण परिषद्ले भोगचलन गर्दै आएको भृकुटीमण्डपको जग्गामा व्यापारीहरुले ब्रह्मलुट मच्चाएका छन् भने राजनीतिको आडमा अतिक्रमणसमेत बढेको छ । मासिक करोडौंको कारोबार गर्ने व्यापारीहरुले एक स्टल बराबर पाँच सय रुपँैया भाडा समाज कल्याण परिषद्को भृकुटीमण्डप संचालन कार्यालयलाई बुझाउदैं आएका छन् ।
समाज कल्याण परिषद् संचालनको मुख्य स्रोतका रुपमा रहेका भृकुटी मण्डप भित्र संचालनमा आएका काठमाडौं फनपार्क, खुल्लाबजार क्षेत्र, प्रर्दशनीस्थल, भृकुटी मण्डप बगैँचालगायत स्थानहरुबाट परिषद्ले बार्षिक झण्डै १० करोड भाडा उठाउदैं आएको छ ।

परिषद्ले अझै ४ करोड रुपैँया बक्यौता उठाउन सकेको छैन । परिषद्का उच्च तहका व्यक्तिकै आडमा भृकुटीमण्डपको जग्गामा व्यापारी तथा गैरसरकारी संस्थाको नियन्त्रण छ ।
व्यापारिक प्रयोजनका लागि स्टल तथा छाप्रोहरु निर्माण गरेर व्यवसाय गरिरहेका व्यापारीहरुले विस्तारै अतिक्रमण गर्ने गरेको भृकुटीमण्डप संचालन कार्यालयका प्रमुख सञ्जयकुमार मल्लिक स्वीकार गर्छन ।
यसअघि २०७५ सालमा भृकुटीमण्डपको जग्गा भाडामा लगाउदा अनियमितता गरेको आरोपमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङ, पूर्वसमाज कल्याणमन्त्री बद्री प्रसाद न्यौपाने र परिषद्का दर्जनबढी पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

जुन विचारधिन अवस्थामा रहेको छ । त्यसयता काठमाडौं फनपार्कमा अनियमिता बढेको थाहा पाएपछि परिषद्ले फनपार्क संचालन गरिरहेको कम्पनी ल्याम्ह पुचःलाई भृकुटमण्डप छोड्न पत्र पठाएको थियो । तर त्यसको अटेरी गरी कम्पनीले पहँुचकै आडमा अहिलेसम्म कब्जा गरिरहेको छ ।

सत्य तथ्य छानबिन गर्न भन्दै परिषद्ले बनाएको उच्चस्तरिय छानबिन समितिले पनि सत्यतथ्य बाहिर ल्याउन सकेको छैन ।
उपत्यका भित्रका अधिकांश सार्वजनिक क्षेत्रका खुल्ला स्थानहरु मासिदै गएका बेला कानून विपरित भृकुटीमण्डपलाईसमेत राजनीतिक र सत्ताकै आडमा अकुत धन आर्जन गर्ने माध्यम बनाईएको छ ।

बारम्बार अनियमितताको अड्डा बनेको यो क्षेत्र संरक्षणमा सरकारीस्तरबाट नजरन्दाज भईरहँदा यसको अस्तित्व नै संकटमा परेको छ ।