कृषिमा उत्पादन बढाउन र लागत घटाउन अनुदान दिइयो हाते ट्याक्टर

कृषिमा उत्पादन बढाउन र लागत घटाउन अनुदान दिइयो हाते ट्याक्टर
शुक्रबार, फाल्गुन २, २०७६

लमजुङ । कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्धेश्यले लमजुङको बेँसीशहर नगरपालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको छ ।

ट्याक्टर वितरणपछि खेति गर्न सहज हुने भन्दै किसानहरु खुशी भएका छन् । बेँसीसहर नगरपालिकाको अनुदान पाएका किसानले प्रतिट्याक्टर ५६ हजार २ सय पर्ने ट्याक्टर २८ हजार १ सयमा ट्याक्टर प्राप्त गरेका छन् ।

ट्याक्टर वितरण अभियान बिहीबार बेसीशहर–२ भकुण्डेबाट शुरु गरिएको हो । पहिलो चरणमा बेँसीशहर वडा नम्बर–२ का ३९ जना किसानले ट्याक्टर प्राप्त गरेका छन्।

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

गाउँबाट युवा पुस्ता विदेशिएपछि काम गर्ने मान्छेको अभाव हुने गरेको छ । गाउँमा गोरु पाल्न छाडेका कारण खेती सरल र सहज नबनाए असम्भव जस्तै बनेको छ ।

कम समयमै काम हुने र खर्च पनि कम लाग्ने भएकाले कृषिमा यान्त्रिकरण, व्यवसायिकरण र बजारीकरण गर्नुपर्ने आवश्यकताका पुरा गर्न पहिलो चरणमा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाको भनाई छ ।

नगरपालिकाले चालु आवको बजेटबाट सयजना किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्न लागेको हो । किसानहरुको अत्यधिक माग भएकोले नगरपालिकाले बजेट थपगरी सय जना किसानलाई ट्याक्टर वितरण गरेको हो ।

नगरपालिकाले प्रत्येक बर्ष हाते ट्याक्टर वितरण गर्दै आएको छ । गत बर्ष २३ जनालाई वितरण गरेको नगरपालिकाले यस वर्ष संख्या बढाएको हो । हाते ट्रयाक्टरमार्फत खेत जोत्ने र छिमेकीलाई समेत समस्या पर्दा प्रयोग गर्न पाइने भन्दै किसान खुसी भएका छन् ।

कृषिप्रधान देशमा कृषिमा लाग्ने जनसंख्या दिनानु्दिन घटिरहेको छ । पढेलेखेका पुस्ताले कृषिलाई पेसाका रुपमा समेत स्वीकार नगर्दा खाद्यय बस्तु्मै परनिर्भरता बढिरहेको छ ।

यसको अन्त्यका लागि किसानलार्इृ कृषिकर्ममै लाग्न प्रोत्साहित गर्न आवश्यक छ । जसका लागि कृषिमा यान्त्रिकरण र आधुनिकीकरण गर्दै कृषितर्फ नागरिकलाई आकर्षित गर्न आवश्यक छ