भ्यालेनटाइन डेमा रानीमहल घुम्न पुगे मायालु जोडी

भ्यालेनटाइन डेमा रानीमहल घुम्न पुगे मायालु जोडी
शुक्रबार, फाल्गुन २, २०७६

किरण कौशल
पाल्पा । आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स् डे । प्रेम गर्ने जोडीहरु अनुकुल स्थानको खोजीमा लागिरहेका हुन्छन । यस्ता प्रेमिल जोडिहरुकै लागि भनेर बनाइएको पाल्पाको रानीमहल प्रणय दिवस मनाउन पुगेका जोडिहरुले भरिभराउ भएको थियो ।

पाल्पा, गुल्मी, स्याङजा, पर्वत र देशका अन्य ठाउँकाहरुक लागि पनि पाल्पाको रानीमहल महत्वपूर्ण गन्त्व्य हो । प्रेमको पहिचान दिने दरबार भएकाले प्रणय दिवशमा जोडी सहित धुम्न र रमाउन धेरै पुग्ने गरेका छन् ।

राणा प्रधानमन्त्री श्री ३ खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी किनारामा रानीमहल दरवार निर्माण गराएका थिए । रानीमहल दरबारमा प्रणय दिवसमा आन्तरिकमात्र नभएर बाह्य पर्यटक समेत पुग्नेगरेका छनु । एकपटक घुम्नै पर्ने स्थानका रुपमा सुनेकाहरु प्रणय दिवस पारेर घुम्न पुगेका छन् ।

खड्ग शमशेरले विक्रम सम्बत १९४९ मा रानीमहलको निर्माण शुरु गरी विक्रम सम्बत १९५५ मा पुरा गरेका थिए । काठमाडौं, पोखरा, बुटवल लगायत नेपाल भरीबाट मोटरसाइकल अन्य सवारीमा पुग्ने घुम्ने, राती क्यामफायर गर्ने र नदि किनारका टेन्टमा रात बिताउनेहरु पनि धेरै भेटिन्छन् । खड्ग शमशेरले रानीको सम्झनामा बनाएको प्रेमको प्रतिक भएकाले रानीमहल पुग्नेको संख्या बढिरहेको छ ।

रानीमहल कस्तो छ भनेर पुगेकाहरुले निकै रमाइलो अनुभव गरेको बताएका छन् । वेलायती शैलीमा निर्माण गरिएको रानीमहल दरवारसम्म तानसेनबाट सवारी साधानमा ४५ मिनेटमा पुग्न सकिन्छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरवारमा २४ कोठा रहेका छन् ।

शिवालय, पानी पोखरी, शिवलिङ्गमा गुम्वज आकारका झ्यालहरु सहित आकर्षक कलाकृतिहरु महलमा देख्न सकिन्छ । ऐतिहासिक रानीमहल रमाइलो वातावरण, उत्तरवाहिनीसँगै चिटिक्क दरबार रहेकाले धेरैको मन लोभ्याउने गरेको छ ।

सडकको स्तरोन्नती र दरबार क्षेत्रलाई अझै व्यवस्थित गर्नसके पाल्पाको पर्यटन विकासमा रानीमहल दरबार महत्वपूर्ण आधार बन्न सक्छ ।