जापानको तटमा रोकिएको क्रूजबाट अमेरिकाले गर्‍यो आफ्ना नागरिकको उद्दार

जापानको तटमा रोकिएको क्रूजबाट अमेरिकाले गर्‍यो आफ्ना नागरिकको उद्दार
सोमवार, फाल्गुन ५, २०७६

एजेन्सी।जापानको तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको क्रुज सिप डायमण्ड प्रिन्सेजमा रहेका आफ्ना नागरिकलाई अमेरिकालाई दुईवटा जहाज मार्फत स्वदेश लगेको छ ।

सोमबार बिहानै जापानको टोकियोमा रहेको हानेदा विमानस्थलबाट आफ्ना नागरिक लिएर अमेरिकी विमान स्वदेश फर्किएको जापानको समाचार संस्था केयोडो ले जनाएको छ ।

फेब्रुअरी ३ देखि जापानको तटमा निगरानीमा राखिएको सोे पानी जहाजमा ३०० अमेरिकी नागरिक थिए। दुई हप्तासम्म निगरानीमा राखिएपछि अमेरिकाले आफ्ना नागरिकलाई विमान चाटर्ड गरेर स्वदेश लगेको हो ।

चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ भनिने नोवेल कोरोना भाइरसको संक्रमणको भयका कारण पानी जहाजलाई तटीय क्षेत्रमै क्वारेन्टाइनमा राखिएको हो ।

क्रूजमा रहेका कोभिड–१९ बाट संक्रमित लगभग ४० जना अमेरिकीको जापानमै उपचार हुनेछ ।

जापानको योकोहामा तटमा चालक दलका सदस्या तथा यात्रु गरी ३७ सय जना रहेको डायमण्ड प्रिन्सेजलाई निगरानीमा राखिएको हो ।

यो पानी जहाजबाट हङकङमा झरेका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएपछि जापानमा सबैलाई झर्न नदिइ क्वारेन्टाइनमा राखिएको हो।

सो पानी जहाजमा रहेका ३५५ जनामा कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको जापानले जनाएको छ । अमेरिकाले स्वदेश लगेपछि पनि सबैलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने छ ।