शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ

शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ
सोमवार, फाल्गुन ५, २०७६

काठमाडौं-  निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाङ्फेलाई आज कानूनमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएपछि सभामुखको निर्वाचनका लागि उपसभामुखबाट राजीनमा दिएकी तुम्बाहाङफेलाई प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गरेका हुन् ।

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।