पाँच हजार घुससहित इञ्जिनीयर पक्राउ

पाँच हजार घुससहित इञ्जिनीयर पक्राउ
मङ्लबार, फाल्गुन ६, २०७६

भोजपुर–भोजपुरको आमचोक गाउँपालिकाका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राई घुस रकम सहित पक्राउ परेका छन् ।

करारका असिस्टेन्ट सवइञ्जिनीयर राईलाई सेवाग्राहीबाट पाँच हजार रुपैया घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो ।
राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरकफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।

त्यस्तै भूकम्प पीडितसँग अन्तिम किस्ताको रकम लिन आवश्यक कागजात मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा गत माघ महिनामा रङ्गेहात पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सवइञ्जिनीयर प्रकाश तिवारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।

तिवारी सेवाग्राहीसँग रु छ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए।