काठमाडौंको आकाश र धर्तीमा सेनाको शक्तिशाली प्रर्दशनका तस्वीर

काठमाडौंको आकाश र धर्तीमा सेनाको शक्तिशाली प्रर्दशनका तस्वीर
शुक्रबार, फाल्गुन ९, २०७६

पुष्कर खतिवडा

काठमाडौं- नेपाली सेनाले महाशिवरात्रिको दिन विभिन्न कार्यक्रम गरि भव्य रुपमा सेना दिवस मनाएको छ । सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख लगायतको उपस्थिति थियो ।

यो दृश्य सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गरेको विशेष समारोहको हो । प्रत्येक बर्षको महाशिवरात्री पर्वकै दिन नेपाली सेनाले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शिवरात्रि र सेना दिवस लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । राइफल र तोपबाट महाशिवरात्रि बढाई गर्दै सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन भएको थियो ।

२०४६ सालसम्म घोडे जात्राको दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको सेनाले त्यसयता महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा विपत तथा युद्धका बेला सेनाले प्रयोग गर्दै आएका विभिन्न सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भएको थियो ।

मौसम खराबिका कारण यसपटक फ्रिफल जम्प नगरेको सेनाले कला, कौशल र क्षमता प्रर्दशनका क्रममा कवाज, खुकरी ड्रिल, पीटी, तेक्वान्दो, राईफल तथा तोपबाट बढाईं र रेस्क्युको कारबाहीको डेमोस्ट्रेसन समेत प्रदर्शन गरेको थियो ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता रक्षाका साथै विपद् व्यवस्थापन, विकास निर्माण्ँमा समेत खटिने नेपाली सेना राष्ट्रिय सुरक्षाका अलावा शान्ती स्थापनाका लागि विभिन्न मिसनमा खटिने गरेको छ । सन् १८१९ बाट संगाठनिक रुपमा स्थापना भएको नेपाली सेनाले विभिन्न कालखण्डमा गौरवपुर्ण गाथा बोकेको छ ।