प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन्’ सार्वजनिक

सूर्यको वरिपरि घुम्ने ९ ग्रहलाई सन्तुलनमा राख्न डोरी बाँध्न पर्दैन

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन्’ सार्वजनिक
शनिबार, फाल्गुन १०, २०७६

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने योजनासहितको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ। राष्ट्रकवि माधव घिमिरे र संस्कृतिविद सत्यमोहन जोसीले प्रधानमन्त्रीको पुस्तक विमोचन गरेका हुन्।

पुस्तक विमोचन पछि प्रधानमन्त्री ओलीले जाँच दिँदा अरुको कापी च्याथिदिनेले भन्दा त्यो भन्दा राम्रो लेखेर उत्कृष्ट हुने प्रयास गर्नेले प्रगति गर्ने बताए। ‘सधै जाँच दिँदा अरुको कापी च्यात्ने होइन, अरुको भन्दा राम्रो लेख्ने प्रगतिपथमा अगाडि बढ्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘क्रियशन र भिजन भएका व्यक्ति नै हो आफू पनि अगाडि बढ्ने र मुलुक पनि अगाडि बढाउने।’

लामो समय लगाएर मुलुकमा जनता सर्वेसर्वा हुने शासन व्यवस्था ल्याएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई अझ व्यवस्थित बनाउनु पर्ने बताए।

‘हामीले लामो संघर्ष पश्चात जनता सर्वेसर्वा हुने व्यवस्था स्थापित गरेका छौं,’ ओलीले भने, ‘यसलाई सही तरिकाले अगाडि बढाउने या नबढाउने भन्ने हाम्रो हातमा छ।’

नेपालमा घर बनाउने ढुंगा, माटो, पानी, काठ सबै हुँदा पनि अव्यवस्थाका कारण घर बनाउन नसकिएको ओलीको भनाई छ। जनचाहना अनुरुपको व्यवस्था र स्थायित्वका लागि आफू लागिरहेको ओलीले बताए।

ओलीले आफूले लेखेको पुस्तकमा विगतमा के भए भन्दापनि मुलुक बनाउन के गर्नुपर्छ भन्ने कुराले प्रथमिकता पाएको जानकारी दिए।

ओलीले नेपालको प्रगतिका लागि दुई छिमेकी राष्ट्रलाई सन्तुलमा राखेर देश विकास गर्ने बताए।

‘सूर्यको वरिपरि ९ ग्रह सन्तुलनमा घुमिरहन्छन्। उनीहरुलाई सन्तुलनमा राख्न डोरी बाँध्न र झुण्ड्याउन आवश्यक पर्दैन,’ ओलीले भने, ‘त्यसैगरी हामीले भिन्न-भिन्न विचार राख्ने दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्छ। सरकार त्यही नीति अख्तियार गरेर अगाडि बढिरहेको छ।’

नेपाल दुई ढुंगाबीचको तरुल भएको स्वीकार गर्दै आफूसँग उपलब्ध स्थानमै समृद्धि हासिल गर्ने बताए।

‘हामीले हाम्रो भूमि विस्तार गर्न सक्दैनौं। किनकी हाम्रा छिमेकीहरु हाम्रा छिमेकीहरु सबै तबरले शक्तिशाली छन्,’ ओलीले भने, ‘ तर, अहिले उपलब्ध भूमिमा समृद्धि हासिल गर्न उनीहरुले रोक्दैनन्।’