कोरोनाको लक्षण नदेखिएपछि खरिपाटी क्वारेन्टाइनमा छायो खुशियाली

कोरोनाको लक्षण नदेखिएपछि खरिपाटी क्वारेन्टाइनमा छायो खुशियाली
आइतवार, फाल्गुन ११, २०७६

शान्ता दनुवार

काठमाडौं । खरिपाटीको क्वारेन्टाइनमा राखिएका १७५ जनाको दैनिक २ पटक शरीरको तापक्रम जाँच्ने काम भइरहेको छ । चीनबाट नेपाल ल्याइएका सबैको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएपछि अहिले क्वारेन्टाइन परिसरमा दैनिक रुपमा गरिने परीक्षण पनि सकारात्मक भएपछि सबै खुसी छन् ।

कोरोना भाइरसको उद्गस्थल चीनको वुहानबाट ल्याएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको पहिलो स्वास्थ्य परीक्षण सकारात्मक भएपछि अहिले सबैमा खुसियाली छाएको छ ।

आफूहरुमा कोरोनाको संक्रमण नदेखिएको भन्दै उनीहरुले परिवारसँग पनि खुसी साटेका छन् । अहिले उनीहरुको दैनिकी सहज भएको तथा दिनमा दुई पटक शरीरको तापक्रम नाप्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खरिपाटी क्वारेन्टाइनको अवस्थाबारे यसो भन्छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताउँछन् ।

खरिपाटी क्वारेन्टाइनमा २४ सै घण्टा स्वास्थ्य टोली परिचालन हुन्छ । जसमध्ये नेपाली सेनाका क्याप्टेन डा. नविन फुँयालको नेतृत्वमा नर्ससमेत स्वास्थ्य टोली क्वारेन्टाइनभित्र रहेकाछन् ।

नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक टोली तयारी अवस्थामा बाहिर रहेका छन् । क्वारेन्टाईनमा राखेको १४ दिनमा स्वास्थ्य जाँच एवम् रगत सङ्कलन गरिनेछ ।

अरु दिन प्रत्येक व्यक्तिको दिनको दुईपटक तापक्रम जाँच गर्ने गरिएको छ । जाँच शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल तथा सशस्त्र प्रहरी अस्पतालमा स्थानान्तरण गर्ने गरी तयारी अवस्थामा रहेको सहप्रवक्ता दाहालले बताए ।

कोरोना भाइरस प्रभाव चीनमा कम हुँदै गएको बताइरहँदा चीन बाहिर यसले महामारीको रुप लिन थालेको छ । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दोब्बर भएको छ ।

इटालीमा समेत ७९ जनामा कोरोनाको संक्रमण देखिएपछि आवातजावत नै बन्दको घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएयता चीनमा २ हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजार २ सय ८८ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा १२ सय जना भन्दा बढीमा संक्रमण भएको छ भने आठ जनाको मृत्यु भइसकेको छ ।