नेपालका सडक सुरक्षित गर्न १ खर्ब चाहिने

नेपालका सडक सुरक्षित गर्न १ खर्ब चाहिने
फाइल तस्वीर
आइतवार, फाल्गुन ११, २०७६

सन्तोष बिके थापा

काठमाडौं । सडकमा हुने दुर्घटना नेपालमा हुने मृत्युको सबैभन्दा ठूलो कारण हो ।

प्रत्येक वर्ष २ हजार २ सयभन्दा बढी नेपाली सडक दुर्घटनाबाटै ज्यान गुमाउने गरेका छन् । सबै विकासशिल देशमा रहने यो समस्या सडकको पूर्वाधार निर्माणले मात्र समाधान हुनसक्छ । र यसका लागि नेपालले थप एक खर्ब लगानी गर्नुपर्ने विश्व बैंकले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सडक दुर्घटनामा मृत्यु हुनेको मुलुकको सूचीमा नेपाल अग्रपन्ती मै आउने गर्दछ । यसको कारण पूर्वाधार नै रहेको विश्व बैंकले ठहर गरेको छ । स्विडेनको स्टकहोममा शुक्रबार विश्व बैंकले सार्वजनिक गरेको सुरक्षित सडकसम्बन्धी अध्ययन प्रतिवेदनमा सडक पूर्वाधार कमजोर रहेको उल्लेख गरेको छ ।

नेपालमा मात्रै सन् २००० यता सडक दुर्घटनाको दर बढ्दो छ । सन् २०१७/१८ मा प्रति एक लाख मानिसमध्ये ८ हजारभन्दा बढीको सडक दुर्घटनामा ज्यान जाने गरेको छ ।

सडक असुरक्षित बन्दै जानुका पछाडी दक्षिण एसियामा पछिल्लो समय भएको तीव्रतर आर्थिक वृद्धिदरले सवारी साधन किन्नेको संख्या बढे पनि पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउन नसकेको देखिन्छ । सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटा भने सडक दुर्घटना बढ्नुको कारण पूर्वाधारमात्र नरहेको बताउँछन् ।

नेपालमा अहिले झण्डै एक लाख किलोमिटरको सडक सञ्जाल छ । त्यसमध्ये १५ हजार किलोमिटरमात्र अन्र्तराष्ट्रिय मापदण्डको छ । विश्व बैंकको अध्ययन अनुसार आगामी दश बर्ष भित्र नेपालको सडक दुर्घटना आधाले न्यूनीकरण गर्न एक खर्बको बराबरको थप लगानी आवश्यक देखिएको छ ।

सडक निर्माणमा वर्षेनी करोडौं लगानी गरिएपनि उपलब्धी मुलक नभएको पूर्व डीआईजी केशव अधिकारी बताउँछन् । यही कारण प्रत्येक वर्ष २ हजार २ सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

नेपालमा अहिले निर्माण भइरहेका सडक ‘सडक सुरक्षासम्बन्धी ऐन २०४९’ अनुसार छन् । जतिबेला नेपालमा १ लाख सवारी साधन थिए ।

अहिले सवारीको संख्या ३३ लाख पुगेको छ । सवारी साधन थपिएझै पूर्वाधारको विकासमा ध्यान नदिँदा त्यसले निम्त्याएको दुर्घटना भयाबह बन्दै छ । त्यसैले सडक दुर्घटना न्यूनिकरण गर्न पूर्वाधारको विकाससँगै, सवारी साधन, सवारी धनी, सवारी चालक तथा यात्रु सबै सचेत बन्न आवश्यक छ ।