एउटा व्यक्तिका लागि संविधान संशोधन गर्न लागेको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो प्रश्न

एउटा व्यक्तिका लागि संविधान संशोधन गर्न लागेको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो प्रश्न
आइतवार, फाल्गुन ११, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई खबरदारी गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि कांग्रेसले विरोध गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने बताएका हुन्।

उनले लेखेका छन्, ‘मधेसले माग्यो, संविधान संशोधन। भनियो-हुन्नl जनजातिले मागे हुन्न भनियोl दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो,’ शर्माले भनेका छन्, ‘तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी? गम्भीर राष्ट्रिय विमर्शविना यो के तमासाको तयारी कमरेडहरु?’

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने हो भने संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधि सभा सदस्यजस्तै प्रधानमन्त्री हुन पाउने बाटो खुला गर्नुपर्ने बताउँदै आएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार सचिवालय बैठकमा उक्त प्रस्ताव लगेका थिए।