विनाअक्सिजन सगरमाथा चढ्दै टासी लाक्पा

विनाअक्सिजन सगरमाथा चढ्दै टासी लाक्पा
सोमवार, फाल्गुन १२, २०७६

काठमाडौ । सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६७ वर्ष भएको छ। यति लामो समयावधिमा दुई पटक मात्रै पर्वतारोही हिउँदमा शिखर पुगेका छन्। हिउँदको यो समयमा चुनौती लिएर नेपाली पर्वतारोही आज सगरमाथातर्फ जाँदैछन्, त्यो पनि विनाअक्सिजन।

अत्याधिक चिसो हुने, हिउँ परिरहने र बाटो बनाउन र पहिल्याउन अत्याधिक चुनौती हुने हिउँदयाममा सगरमाथा लगायतका हिमचुचुरा आरोहण गर्नुलाई पर्वतारोहण क्षेत्रमा असामान्य घटना नै मानिन्छ।

यस्तै, असमान्य सिजनमा बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले नेपाली आरोही टासी लाक्पा शेर्पा आज सगरमाथा जान लागेका हुन । पर्यटन विभागले उनलाई आइतबार साँझ आरोहण अनुमती प्रदान गरेको थियो । आरोही टासी लाक्पाका अनुसार सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ६७ वर्षयता दुईपटकमात्रै हिउँदयाममा सफल आरोहण भएको छ।

आरोही टासी लाक्पासँग सहयोगीका रुपमा पासाङ नोर्बु शेर्पा, हलुङ दोर्जी शेर्पा र मिङतेम्बा शेर्पा गाइडका रुपका जाँदैछन्।