ट्रम्प र मोदीबीच आज प्रतिनिधिस्तरीय वार्ता हुँदै, रात्रिभोजमा सरिक भएर राति नै स्वदेश फर्किने

ट्रम्प र मोदीबीच आज प्रतिनिधिस्तरीय वार्ता हुँदै, रात्रिभोजमा सरिक भएर राति नै स्वदेश फर्किने
मङ्लबार, फाल्गुन १३, २०७६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने राजकीय भ्रमणका क्रममा हिजो भारत आइपुगेका हुन् । ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । दुई दिने भ्रमणमा क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प सोमबार विहान अहमदाबाद विमानस्थलमा अवतरण भएका हुन् ।

भारत भ्रमणको दोस्रो दिन आज राष्ट्रपति भवन परिसरमा ट्रम्पको स्वागत कार्यक्रम हुने छ । त्यसपछि हैदरावाद हाउसमा ट्रम्प र मोदीबीच प्रतिनिधिस्तरीय वार्ता हुनेछ ।

आज साँझ नै ट्रम्पले राष्ट्रपति भवनमा समकक्षी रामनाथ कोविन्दलाई भेट्ने कार्यक्रम छ । समकक्षी कोविन्दले आयोजना गरेको रात्रिभोजमा सरिक भएर राति नै ट्रम्प स्वदेश फर्किने कार्यक्रम छ ।

ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिजो आफै विमानस्थल पुगेका थिए । स्वागतका क्रममा मोदीले ट्रम्पलाई अङ्कमाल गरे ।

विमानस्थलमा ट्रम्पको स्वागतमा गुजरातको संस्कृति झल्कने शंख र ढोल बजाई सयौं कलाकारहरुले पारम्परिक नृत्य प्रस्तुत गरेका थिए । विमानस्थलबाट राष्ट्रपति ट्रम्प सिधै साबरमती आश्रम गए ।

उनले साबरमती आश्रममा रहेको ‘हृदय कुञ्ज’मा चर्खा घुमाएका छन् । सो आश्रममा सन् १०१८ देखि १९३० सम्म महात्मा गान्धी र उनकी श्रीमती कस्तुरबा गान्धी बसेका थिए ।

गान्धी आश्रममा ट्रम्पले महात्मा गान्धीको तस्बिरमा माल्यार्पण गरेका थिए । त्यसपछि ट्रम्पलाई अहमदावादमा ‘नमस्ते ट्रम्प’ समारोह आयोजना भएको स्थान नवनिर्मित मोटेरा क्रिकेट रंगशालासम्म सडकको दुवै किनारमा भारतीय नागरिकहरु उभिएर स्वागत गरेका थिए ।

आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई ट्रम्पले सम्बोधन गरे । समारोहमा लाखौं भारतीय नागरिक सहभागी भएका थिए । यो कार्यक्रमलाई भारतकै हालसम्मको भव्य कार्यक्रम भनिएको छ ।

कार्यक्रममा विभिन्न राज्यको प्रतिनिधित्व हुने गरी गीतसंगित प्रस्तुत गरिएको थियो । त्यसपछि दुवै देशका नेताले भारत अमेरिकाको सम्बन्धका बारेमा चर्चा गरे ।

मोटेरा रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भारतलाई रक्षा उपकरण प्रदान गर्ने बताए । भाषणपछि ट्रम्पलाई गाडीमा नै रंगशाला परिक्रमा गराईएको थियो ।

अहमदावादपछि ट्रम्प आगरास्थित ताजमहल पुगे । जहाँ उनले दुई घण्टा बिताएका थिए । त्यसपछि उनी भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरे ।

ट्रम्पको भ्रमणलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्प, छोरी इभान्का र ज्वाई जर्ड खुस्नेर पनि भारत भ्रमणमा पुगेका छन् ।

अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । भारत पुगेका ट्रम्प सातौं अमेरिकी राष्ट्रपति हुन् । यो भ्रमणले दुई शक्ति राष्ट्रबिचको सम्बन्ध थप बजबुत हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा दुई देशका राष्ट्र प्रमुखबीच व्यापारिक सम्भौता हुने बताइएको छ । यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

ट्रम्पका यो भ्रमणसँगै रुसबाट समेत रक्षा उपकरण खरिद गर्न थालेको भारतलाई पुनः अमेरिकाले हार्दिकताका साथ आफ्नै पक्षमा पार्ने टिप्पणीहरु समेत भइरहेका छन ।

यसअतिरिक्त अमेरिकाले नाकाबन्दी लगाएको इरानबाट इन्धन समेत खरिद गर्दै आएको भारतलाई त्यो किक्ताबाट समेत हटाउन अमेरिका सफल हुने ठानिएको छ ।

तर कूटनीतिमा कूटिल नै मानिएका मोदीले त्यो अवस्था भने सृजना हुन दिन्छन या दिन्नन् भारतको आगामी व्यवहारबाटै पुष्टि हुनेछ ।