गगन थापाले संसदबाटै मागे प्रधानमन्त्री ओलीको राजीनामा

गगन थापाले संसदबाटै मागे प्रधानमन्त्री ओलीको राजीनामा
मङ्लबार, फाल्गुन १३, २०७६

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे ।

उनले भने, ‘संख्या तपाईसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाईले गुमाउनु भएको छ । त्यसैले सम्माननिय प्रधानमन्त्री जी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाई स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’

थापाले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघि नै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गरे ।

थापाले डाँडाँकाँडा र तालतलैया डुलेर बस्नुभन्दा प्रधानमन्त्रीले संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ?’, थापाले भने, ‘प्रधानमन्त्री ज्यूसँग हिम्मत छ की छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ राख्नै पर्छ । सम्मानिय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन् । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन् सही प्रश्नहरु सोध्नेछौँ ।’

अडियो डेढ महिना अगाडी सुनेको विषयमा प्रधानमन्त्रीले जे भनेपनि उनका आसोपासेहरुले थाहा थिएन भनेर जवाफ दिइरहेको थापाले बताए ।