बल्खु मै बन्ने भयो सत्तारुढ नेकपाको पार्टी भवन

बल्खु मै बन्ने भयो सत्तारुढ नेकपाको पार्टी भवन
फाइल तस्वीर
मङ्लबार, फाल्गुन १३, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने तयारी शुरु गरेको छ ।

यही माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नयाँ भवन बनाउने सचिवालयको निर्णयलाई अनुमोदन गरेसँगै नयाँ भवन बनाउने गृहकार्य शुरु गरेको नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

पार्टीले पुरानो नेकपा (एमाले) रहेको मदन नगर बल्खुमा नै पार्टी कार्यालय बनाउने निर्णय गरेको हो । भवन बनाउनका लागि अहिले लालपुर्जानुसारको फिल्डमा कति जग्गा छ भनेर अध्ययन भइरहेको छ ।

पार्टीले बल्खुस्थित जग्गाको अवस्था बुझ्नका लागि प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएसनलाई जिम्मा दिएको छ । एशोसिएसनका अध्यक्ष शम्भु श्रेष्ठले जग्गाको सर्भे सकिएकाले पार्टीलाई प्रतिवेदन बुझाइने बताए ।

उनका अनुसार मदन नगरको जग्गा नौ रोपनी ११ आना तीन दामको छ । पार्टीले पटकपटक भवन बनाउने निर्णय गरे पनि कार्यान्वयन गरेको थिएन । यसपटक भने दुई पार्टी एक पनि भएको र दुई ठाउँमा पार्टी कार्यालय रहेकाले एकै ठाउँमा सञ्चालन गर्नका लागि भवन बनाउने कार्यमा पार्टी जुटेको छ ।

बैठकले देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुने गरी आगामी तीन महिनाभित्र पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णयसमेत गरेको थियो ।

पार्टीले प्रतिष्ठानस्थित कार्यालय भवनवापत मासिक भाडा बुझाउँदै आएको छ । पहिले मासिक रु एक लाख ५० हजार भाडा बुझाउँदै आएकामा वर्षेनी १० प्रतिशत वृद्धि भई अहिले पार्टीले भाडावापत दुई लाख १५ हजार करबाहेक बुझाउँदै आएको छ ।

पार्टीको अर्को पेरिसडाँडास्थित कार्यालयले भने भाडा बुझाउनु पर्दैन । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि नयाँ भवन बनाउने विषयमा छलफल भए पनि केन्द्रीय कमिटी बैठकले भर्खर मात्र निर्णय गरेको हो ।

एमालेको नवौँ महाधिवेशन अगाडि पनि बल्खुमा नै नयाँ भवन बनाउने निर्णय गरिएको थियो । तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित भवन निर्माण समितिले छतले अत्याधुनिक भुइँतला (अन्डरग्राउण्ड) सहितको भवनको डिजाइन गरिएको थियो ।

भवनको शिलान्यास तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले गरेका थिए । एमालेले भूकम्पपछि बल्खुमा नै नयाँ भवन बनाउने कुरा गरे तापनि केही ठोस प्रगति हुन नसकेको थिएन । अहिले दुई पार्टी गठन भएपछि केन्द्रीय कमिटी बैठकले नै सचिवालयले गरेको निर्णयलाई अनुमोदन गर्दै तीन महिनाभित्र पार्टीको अत्याधुनिक भवन बनाउने तयारीमा नेकपा छ ।