पोखरा बसपार्कको १९२ रोपनी जग्गा अतिक्रमण

पोखरा बसपार्कको १९२ रोपनी जग्गा अतिक्रमण
मङ्लबार, फाल्गुन १३, २०७६

हरि पन्त
कास्की । सुन्दर नगरीको उपनाम पाएको कास्कीको पोखरा बसपार्क अस्तव्यस्त भएको लामो समय भैसकेको छ । व्यवस्थित वसपार्क नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको भएपनि अतिक्रमित वसपार्कको जग्गा खोजी गरी व्यवथित बसपार्क वनाउन भने कतैबाट पहल भएको छैन ।

सुन्दर नगरी पोखरामा व्यवस्थित बसपार्क नहुँदा पोखरा पुग्नेले सास्ती भोग्दै आएका छन्। बसपार्कमा जताततै खाल्डाखुल्डी छनभने, अव्यवस्थित घरटहराले सुन्दर नगरीको सुन्दरतानै खोसेको छ ।

बसपार्क रहेको जग्गाको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिमा रहेको छ । २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा अहिलेसम्म पूर्वाधार बन्न सकेको छैन।

पृथ्वी राजमार्गभित्रको २ सय ५ रोपनी जग्गा अतिक्रमणमा परेर अहिले ३० रोपनीमा खुम्चिएको छ। करिब ५ सय ५० को हाराहारीमा सुकम्बासीका घरटहरा रहेको यस क्षेत्रमा विभिन्न दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्ने गरेको भएपनि बस्ती स्थानान्तरणमा भने पहल हुन सकेको छैन ।

व्यवस्थित वसपार्कका लागि स्थानिय तहले काम गरेको भएपनि प्रदेश र संघीय सरकारले ध्यान दिन नसकेको पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यमराज लामिछानेले बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलेसमेत बसपार्कको जग्गा ३० रोपनी वाहेक सवै अतिक्रमणमा परेको बताएका छन ।

त्यसो त मेयर जिसीले भूमि सुधार मन्त्रालयले भूमिसम्बन्धी नयाँ कानून बनाउँदै गरेको अवस्थामा आफुहरुले कानुन कुरेर वसेको बताएका छन ।

पोखरा नगरविकासमा बसपार्कका लागि पर्याप्त वजेट भएको भएपनि जग्गा अतिक्रमणले व्यवस्थीत बसपार्क निर्माण हुन सकेको छैन । व्यवस्थित बसपार्क नहुँदा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । जसका कारण पोखराको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको छ । व्यवस्थित बसपार्कको निर्माण गरि सुन्दर नगरी पोखराको सुन्दरता जोगाउन सम्वन्धित सरोकारवालाको ध्यान जान जरुरी छ ।