सत्तारुढ दल नेकपा भित्र शीर्ष नेताहरुबीच चल्यो जुहारी

संगठन सुदृढीकरण अभियान प्रभावित, स्थानीय तहका नेताहरु रनभुल्ल

सत्तारुढ दल नेकपा भित्र शीर्ष नेताहरुबीच चल्यो जुहारी
फाइल तस्वीर
मङ्लबार, फाल्गुन १३, २०७६

श्रीकृष्ण सुवेदी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले संगठन सुदृढिकरणका लागि शुरु गरेको विशेष अभियान बारे शीर्ष नेताबीच नै जुहारी चलेको छ । शीर्ष नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिएपछि तल्लो तहका नेताहरु भने रनभुल्लमा परेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुरु गरेको तीन महिने विशेष अभियानमा शीर्ष नेताहरुबीच नै आरोप प्रत्यारोप चलेको छ । पार्टी एकताको भावना र संगठन सुदृढिकरणको लागि भन्दै नेकपाले चलाएको अभियानमा शीर्ष नेताहरु नै पक्ष विपक्षमा उभिएका हुन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै र बाहिरबाट सरकारको विपक्षमा षड्यन्त्र भइरहेको बताइरहेका छन् ।

ओलीले विशेष अभियानमा सम्बोधन गरेका प्राय भेलामा नाम नलिई सरकारलाई अस्थिर बनाउन सबै शक्ति लागिपरेको दाबी गरिरहेका छन् ।

त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि जनतामा खुशी नपाएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । करिब दुई तिहाई बहुमत सहितको सरकारको दुई वर्ष बढी समयसम्म पनि अपेक्षित काम गर्न नसकेकाले जनतामा निरासा छाइरहेको दाहालको दाबी छ ।

तर, ओली र दाहालबाहेका दोश्रो तहका नेताहरु भने शीर्ष नेतृत्वबीचको दन्तबजानलाई अस्वभाविक भएको बताउंछन् । केन्द्रीय कमिटि बैठकको म्याण्डेट अनुसार पार्टी एकता र सुदृढिकरणमै पार्टी केन्द्रीत हुनुपर्ने उनीहरुको भनाई छ ।

नेकपाले फागुनभरि प्रदेशस्तरको अभियानका लागि तयारी भेला, बैठक गर्ने र चैतदेखि तल्लो तहसम्मै विशेष अभियान सञ्चालन गर्ने कार्यसूचि बनाएको छ ।

यो अबधिमा पार्टी एकतापछि एकतापूर्वका दुबै पक्षबीच सुमधुरता ल्याई संगठनलाई एकताबद्ध बनाउने नेकपाले दाबी गरेको छ । तर, शीर्ष नेताबीचकै जुहारीले तलो तहका नेताहरुमा चिन्ता पनि थपेको छ ।