धनगढीका स्थानीय चोर आतंकबाट पीडित

धनगढीका स्थानीय चोर आतंकबाट पीडित
मङ्लबार, फाल्गुन १३, २०७६

दिनेश विष्ट
कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढी उप महानगरपालिकाबासी चोरको आतंकबाट पीडित बनेका छन् । बिगतका वर्षहरु देखि नै सुरु भएको घरको ताल्चा फुटाएर चोरी हुने क्रम अझै रोकिएको छैन ।

घरमा राखिएका बोरिङ, हेन्डपम्प, दैनिक उपभोग्य सामग्री लगायत गरगहना तथा सुनचाँदी समेत चोरी भइरहेका छन । चोरीका घटना दिनप्रतिदिन बढिरहेपनि स्थानीय प्रशासनले चासो नदिएको स्थानीयको आरोप छ ।

धनगढी उपमहानगरपालिकाका अधिकाशं नागरिक चोरहरुबाट आक्रान्त बनेका छन् । त्यसमध्ये धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २ र ८ का बासिन्दा चोरहरुबाट बढि पीडित छन् । दैनिक घरभित्रबाटै समान चोरी हुनेगरेको छ भने बारीमा लगाएका बोरिङ समेत बाँकी रहदैनन् ।

चोरले गरेको तोडफोड

केही दिन यता धनगढी उप महानगरपालिका वडा नम्बर २ मा लगातार टोलको सडक बत्ती नै काटेर चोरी हुन थालेपछि स्थानीयहरु आतंकिनत बनेका छन् । लगातार वडा नम्बर २ मा पानीमोटर, ईन्भटर, नल्का, साईकल, नगद तथा गरगहना लगायत सामानहरु चोरी भैरहेका छन् ।

सडक बत्ती काटेर रातीको समयमा चोरहरुले टोलैपिच्छे श्रृङ्खलाबद्ध तरिकाले चोरी भैरहेको स्थानीयहरुले बताएका हुन । रिनदान गरेर लगाएका सामानहरु चोरहरुले चोरी दिँदा स्थानीय थप समस्यामा परेका छन् ।

प्रदेशको अस्थाई राजधानी भएको ठाउँमा दिनप्रतिदिन चोरीका घटनाहरु घट्ना थालेपछि सुरक्षा निकाय गम्भीर नबनेको स्थानीयको आरोप छ । चोरीको बारेमा प्रहरी प्रसासनलाई खवर गर्दा समयमै नआउने भएकाले स्थानीय, प्रदेश सरकार र सुरक्षाले निकाय गम्भीर बन्नुपर्ने स्थानीय कमला पाण्डेयको माग छ ।

धनगढी २ मा बर्षेनी चोरीका घटना भएपनि अहिले लगातार चोरीका घटना हुन थालेपछि स्थानीयहरुले सरकार तथा सुरक्षा निकायसँग सुरक्षाको बन्दोबस्त मिलाईदिन माग गरेका छन् । भारतसँग खुला सिमानाका र चोरीतस्करी बढी हुने क्षेत्र भएकाले प्रहरी बिटको आवश्यकता उनीहरुले महसुस गरेका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय कैलालीले भने चोरीको घटना पहिलेभन्दा अहिले चोरीको घटनामा कमी भएको दावी गरेको छ । चोरी भैरहने स्थान लगायत बजार क्षेत्रको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयबाट सुरक्षाकर्मी खटाएको प्रहरीले बताएको छ ।

बिगतवर्ष देखि नै चोरीको आतंक खेप्दै आएका धनगढीबासीलाई प्रहरीले आश्वासन बाहेक केही दिन सकेको छैन । बाहिरबाट आउने प्रहरी अधिकारीले सुरुमा चोरी तस्करी नियन्त्रणमा सक्रीयता देखाउने भएपनि उनीहरु पन्छिने गरेका छन् । यसलाई नै स्थानीयले रहस्यको विषय मानेका छन् ।