२ करोडको लागतमा कसले गरेका थिए पशुपतिनाथ मन्दिरको यो सजावट ?

२ करोडको लागतमा कसले गरेका थिए पशुपतिनाथ मन्दिरको यो सजावट ?
बुधबार, फाल्गुन १४, २०७६

काठमाडौं- शिवरात्रिमा यो वर्ष पशुपतिनाथ मन्दिरमा गरिएको फूलैफूलको साज-सज्जाको चर्चा राम्रै रह्यो । शिवरात्रिको दिन भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न पुग्ने जो कोहीले सजावटप्रति निकै गर्ब गरे । फूलैफूलले सजाइएको पशुपतिनाथ परिसरलाई देखेर सबैले वाह ! भनेकै थिए ।

शिवरात्रि सकिएको भोलिपल्ट नै त्यहाँका फूल चोरी भएपछि सामाजिक सञ्जालमा अनेक खालका टिप्पणीहरु सार्वजनिक भएका थिए ।

यो सजावटलाई बाँदरबाट कसरी जोगाउने भन्ने मनसाय पालेको पशुपति क्षेत्र विकास कोषले मानिसबाट नै फूल जोगाउन सकेन । मान्छेको हात पुग्ने ठाउँसम्मका फूल चोरी भए । अघिल्लो दिनको सुन्दरता एक दिन नबित्दै कुरुप बन्यो ।

फूलहरु चोरी भए पनि यो वर्षको शिवरात्रिलाई सुशोभित पार्ने काम कसले गरेको थियो ?  सबैलाई जानकारी नहुन सक्छ । पशुपतिनाथलाई दुलही झैँ सिंगार्ने काम भारतको मद्रासबाट आएका दुई जना शिव भक्तले करिब २ करोड रुपैयाँको लागतमा गरेका थिए ।

सञ्जीव छिब्बर र केके शर्मा मिलेर पशुपतिनाथ विशेषरुपमा सजाएका थिए । सञ्जीव छिब्बर भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक हुन् भने केके शर्मा चेतन हन्डाका निर्देशक हुन् ।

उनीहरुले कोरिया, अस्ट्रेलिया, थाइल्याण्ड र भारतको विभिन्न ठाँउबाट फूलहरु मगाएका थिए । अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको नियालगायत विभिन्न जात र रङका फूलहरु ल्याएर उनीहरुले पशुपति सजाउने काम गरेका थिए ।

फूलहरु सजाउन डेढ सय भारतीय कामदार समेत नेपाल आएका थिए ।