नापोलीसँग बार्सिलोनाले खेल्यो बराबरी

नापोलीसँग बार्सिलोनाले खेल्यो बराबरी
बुधबार, फाल्गुन १४, २०७६

काठमाडौं-  स्पेनिस जायन्ट बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब नापोलीसँग बराबरी खेलेको छ ।

मंगलवार राति नापोलीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–१ को बराबरी खेलेको हो ।

खेलको ३०औं मिनेटमा ड्राई मर्टेन्सको गोलबाट घरेलु टोली नापोलीले पहिले अग्रता लिएको थियो । यस गोलपछि उनले नापोलीका लागि सर्वाधिक १२१ गोल गर्ने मारेक ह्यामसिकको कीर्तिमान बराबरी गरेका छन् ।

पहिलो हाफमा नापोलीले अग्रता कायम राखेको थियो । तर दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्कायो । ५७औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

८९औं मिनेटमा अर्टुरो भिदाल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाले दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो ।

दोस्रो लेग मार्च १८ मा बार्सिलोनाको मैदानमा हुनेछ ।