दिल्लीमा हिंसा झन चर्किदै, मृत्यु हुनेको संख्या २० पुग्यो

दिल्लीमा हिंसा झन चर्किदै, मृत्यु हुनेको संख्या २० पुग्यो
बुधबार, फाल्गुन १४, २०७६

भारत- भारतको राजधानी दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि चर्किरहेको जारी हिंसामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ ।

मेट्रो स्टेशन नजिकै प्रदर्शन गरिरहेका मध्ये धेरैजसो महिला थिए । जाफराबादमा महिलाले केही दिनदेखि सीएएविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए । तर शनिबार राती प्रदर्शनकारीमध्ये केहीले जाफराबाद रोड अवरुद्ध गरिदिए ।

आइतबार धर्ना स्थलबाट केही पर सीएएको समर्थनमा भारी मात्रामा भीड जम्मा हुन थाल्यो जसका कारण स्थिती तनावग्रस्त भयो । सोमबार त हिंसा नै सुरु भयो ।

दिल्ली पुलिसका डीसीपी मनदीप सिंह रंधावाले पत्रकार सम्मेलन गर्दै हिंसा र त्यससँग जोडिएको कारवाहीबारे जानकारी दिए ।

डीसीपी रंधावाले भने, ‘दिल्ली पुलिसका ५६ जवान घाइते भएका छन् । उत्तरी–पूर्वी दिल्लीमा पर्याप्त मात्रामा जवान तैनाथ गरिएका छन् । हामीसाग अर्धसैनिक बलमा सीआरपीएफ र एसएसबी छन् । यीबाहेक ग्राउन्डमा पेट्रोलिङका अन्य थुप्रै तरिकाले निगरानी गरिँदैछ ।

पुलिसले धारा १४४ लगाएको छ । १४४ लागु हुँदा हुँदै पनि आज केही इलाकामा हिंसा भएको छ । म दिल्ली निवासीलाई अपिल गर्छु कि कानूनलाई आफ्नो हातमा नलिनुहोस् । असामाजिक तत्वविरुद्ध कडा कारवाही गएिको छ । ड्रोन्सको मद्दत लिइरहेको छु । हामी सिसिटीभी रेकर्डिङको पनि अनुसन्धान गरिरहेका छौं ।’