नेपाल ट्रष्टको जग्गाबारे सरकारको स्वेतपत्रप्रति देउवाको गम्भिर आपत्ती

बास्कोटा प्रकरणबाट ध्यान मोड्न खोजेको आरोप

नेपाल ट्रष्टको जग्गाबारे सरकारको स्वेतपत्रप्रति देउवाको गम्भिर आपत्ती
बुधबार, फाल्गुन १४, २०७६

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गाका विषयमा आफ्नो कार्यकालमा कुनै निर्णय नभएको भन्दै सरकारले सार्वजनिक गरेको स्वेतपत्रप्रति गम्भिर आपत्ती जनाएका छन् ।

सरकारले नेपाल ट्रष्टको जग्गाका बारेमा सार्वजनिक गरेको नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धी स्वेतपत्रमा देखाइएजस्तो कांग्रेस नेतृत्वको सरकारले कुनै निर्णय नगरेको भन्दै गम्भिर आपत्ती जनाएका हुन् ।

कांग्रेस सभापति देउवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’

सभापति देउवाले जारी गरेको विज्ञप्तीमा नेपाल ट्रष्ट ऐनले गरेको व्यवस्थाअनुसार वोर्डकै कर्मचारीले गरेको काममा प्रधानमन्त्रीका रूपमा कुनै हस्तक्षेप वा निर्णय नगरेको समेत बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘२०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ ।’

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा सरकारले सार्वजनिक गरेको स्वेतपत्र रहेको समेत दाबी गरेका छन् ।