संरचना पक्की बनाउने हवाला दिने सिमेन्ट नै गुणस्तरहीन ? (भिडियो)

संरचना पक्की बनाउने हवाला दिने सिमेन्ट नै गुणस्तरहीन ? (भिडियो)
बुधबार, फाल्गुन १४, २०७६

पुष्कर खतिवडा

काठमाडौं- गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट तथा स्टिल उत्पादन गरेको भन्दै तीन सिमेन्ट तथा एक स्टिल उद्योगलाई कारवाही गरेको छ । बजारबाट संकलित नमुनाहरु विभागको प्रयोगशालामा परीक्षण गर्दा नेपाल गुणस्तर अनुरुप नपाइएकोले उनीहरुलाई कारवाही गरिएको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने तीन सिमेन्ट र एक स्टील कम्पनीलाई कारबाही गरेको छ । विभागले गरेको बजार अनुगमनबाट संकलित नमूना परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाइएको भन्दै विभागले कारबाही गरेको हो ।

कारबाहीमा पर्ने नेपाल शालिमार सिमेन्ट प्राली बाराको संकलित नमूनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्थ १५ एमपीए र एमजीओ ६ दशमलव ७ प्रतिशत मात्र रहेको अर्थात नेपाल गुणस्तर ३८५ अनुरुप नरहेको भन्दै उसको इजाजत पत्र स्थगन गरिएको छ ।

त्यस्तै रिलायन्स सुपरटेक सिमेन्ट प्रा.ली. बाराको डनलप पीएससी सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्थ १४ एमपीए अर्थात नेपाल गुणस्तर ३८४ अनुरुप नरहेको भन्दै उसको पनि इजाजत पत्र स्थगन गरिएको हो ।

त्यस्तै एमजेप्पी सिमेन्ट प्रा.ली. कपिलबस्तुको बुद्ध पीपीसी सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्थ ११ एमपीए र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ १७ एमपीए मात्र भएको अर्थात नेपाल गुणस्तर ३८५ अनुरुप नरहेकोले उसलाई स्पष्टिकरण सोधिएको नेपाल नापतौल तथा गुणस्तर विभागका उपमहानिर्देशक दीनानाथ मिश्रले जानकारी दिए ।

विभागले ती सिमेन्ट कम्पनी उपर नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसार कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको हो । सिमेन्ट बाहेक कारबाहीमा परेको अशोक स्टिलको एफई ५०० टीएमटी बार १२ एमएमको संकलित नमुनाको इलोङगेशन ११ दशमलव ६७ प्रतिशत र बेण्ड टेष्ट नेपाल गुणस्तर १९१ अनुरुप नरहेको भन्दै उसको इजाजत पत्र रद्द गरिएको विभागका उपमहानिर्देशक मिश्रले बताए ।

कारबाहीमा परेका शालिमार सिमेन्ट, रिलाइन्स सिमेन्ट, एमजेप्पी सिमेन्ट र अशोक स्टिलले अब कुनै पनि उत्पादन गर्न पाउदैनन् । ती कम्पनीले बजारबाट सो ब्याचका सबै सामाग्री फिर्ता लिई विभागबाट नयाँ इजाजत पत्र लिएर गुणस्तर सुधार गरे मात्र उत्पादन गर्न पाउनेछन् ।