डा. भट्टराईको प्रश्न, ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’

डा. भट्टराईको प्रश्न, ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’
बुधबार, फाल्गुन १४, २०७६

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

उनले भने ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ? म लगायत हामी सबै हिजो त हामी त साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ । आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरे । प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरी मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्योँ ?’

उनले अघि भने, ‘म अलिकति गणितीमा चाँसो राख्ने मान्छे पनि हुँ । अर्थमन्त्री पनि भइटोपलेको मान्छे । मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ । त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु ।’

मातातिर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृति देखाउन खोजिएको आरोप लगाएका भटटराईले उनले आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानूनी र नैतिक रुपमा ठिक रहेको बताए । डा. भट्टराईले प्रधानमन्त्रीले प्रतिसोध, असहिष्णुता वा निषेध गर्ने प्रवृति देखाएको भन्दै भने, ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्दैन् ।’