बहराइनमा पनि कोरोनाको संक्रमण देखियो, नेपालीहरु त्रसित

बहराइनमा पनि कोरोनाको संक्रमण देखियो, नेपालीहरु त्रसित
बिहिबार, फाल्गुन १५, २०७६

काठमाडौं- चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण बहराइनसमेत फैलिएपछि त्यहाँ रहेका नेपालीहरु त्रसित भएका छन् ।

बहराइनकाे २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको देखिएको पुष्टि भइसकेको छ ।

बहराइन सरकारले संक्रमण फैलिन रोक्ने उपायस्वरुप सबै शिक्षण संस्थाहरु मंगलबारदेखि दुई हप्तासम्मका लागि बन्द गराएको छ । हवाई उडान पनि बन्द गरिएको छ । कोरोनाको त्रासले बहराइनका बजारहरु सुनसान छन् भने होटल क्षेत्र ठप्प पारिएका छन् ।

बहराइनस्थित दूतावासले सुरक्षा सचेतनाका लागि सूचना प्रवाह वा अन्य कुनै गतिविधि गरेको छैन । दूतावासको वेबसाइट र फेसबुक पेजमा पनि कोरोनासँग सम्बन्धित कुनै सूचना वा जानकारी राखिएको छैन । बहराइनमा हाल नेपाली राजदूत पदम सुन्दास छन् ।

बहराइनमा इरानबाट कोरोना संक्रमण फैलिएको बताइएको छ । इरानबाट आएका तीन जना महिलाबाट कोरोना भाइरस सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इरानमा १९ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिले २०१९ को डिसेम्बर अन्तिम साता चीनमा फेला परेको थियो । हाल ३० भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म २ हजार ८ सय १ पुगिसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट विश्वभर ८२ हजार २७ संक्रमित छन् ।