यति समूहका सदस्य शेर्पा लागुऔषधसहित पक्राउ

यति समूहका सदस्य शेर्पा लागुऔषधसहित पक्राउ
बिहिबार, फाल्गुन १५, २०७६

काठमाडौं- यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा लागूऔषधसहित पक्राउ परेको रहस्य खुलेको छ ।

लागुऔषधसहित पक्राउ परेका चार जनामध्ये तीन जनाको बुधबार जिल्ला अदालतमा बयान लिइएकपछि शेर्पा पक्राउ परेको रहस्य सार्वजनिक भएको हो । उनीहरुलाई  प्रहरीले पक्राउ गरी गोप्य राखेको मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश विदुर कोइरालाको इजलासमा भएको थियो।

शेर्पासहित चार जनालाई प्रहरीले गत माघ १८ गते खैरो हिरोइनलगायतका लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा शेर्पासहित राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले १०० मिलिग्राम खैरो हेरोइन, १० ट्याबलेट नाइट्रोजन, ६ पिस डाइजेपाम, नोफिन २ पिस, फेनगोजान ३९ पिस र १२ थान सिरिन्ज समेत बरामद गरेको थियो ।

पक्राउ परेका अन्य ३ जनाको बयान सकिए पनि शेर्पाको बयान भने आज  हुने जनाइएको छ । त्यसपछि थुनछेक आदेश हुनेछ । नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको आरोपमा मुछिएका थिए।