कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु
बिहिबार, फाल्गुन १५, २०७६

एजेन्सी । इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ सय पुगेको छ । पछिल्लो २४ घण्टामा इटलीमा संक्रमितको संख्या २५ प्रतिशतले बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएको छन् ।

मंगलबार रातिसम्म कोरोनाभाइरस संक्रमितकोे संख्या ३ सय २० रहेकोमा त्यो संख्या बढेर चार सय पुगेको बीबीसीले जनाएको छ । इटलीको उत्तरी भेग लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा कोरोनाको संक्रमण प्रभाव बढिरहेको बताईएको छ ।

संक्रमण बढेपछि १२ वटा शहरमा आवागमनमा प्रतिबन्ध लगाएको इटलीले शैक्षिक संस्था, सिनेमा हल, होटल तथा क्याफे बन्द गरेको छ । गत डिसेम्बर अन्तिमदेखि देखा परेको कोरोना भाइरसबाट हालसम्म २ हजार ८ सय ४ जनाको मृत्यु भइरकेको छ ।

त्यस्तै संक्रमितको संख्या ८२ हजार १ सय ८६ पुगेको छ । यो भाइरस हालसम्म ३४ राष्ट्रमा फैलिएको छ ।

मृतक अधिकांश चिनियाँ नागरिक हुन् । बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डमा पनि कोरोनाभाइरसको पहिलो संक्रमण भेटिएको बताइएको छ ।