सचिवालयको निर्णय सबैले मान्नुपर्ने वरिष्ठ नेता खनालको भनाइ, राजनीतिक परिवर्तन हुनसक्ने संकेत

सचिवालयको निर्णय सबैले मान्नुपर्ने वरिष्ठ नेता खनालको भनाइ, राजनीतिक परिवर्तन हुनसक्ने संकेत
बिहिबार, फाल्गुन १५, २०७६

काठमाडाैं । नेकपा वरिष्ठ नेता झलनाथ खनालले बामदेव गाैतमलाइ राष्ट्रियसभा सदस्य बनाउने सचिवालयको निर्णयमा कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।

संसद भवन नयाँ वानेश्नवरमा प्रतिक्रिया दिदै उनले बुधबारको सचिवालय बैठकमा राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने विषयमा एक मतले गाैतमलाइ पठाउने निर्यण गरेको भन्दै परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘बुधबारको सचिवालय बैठकमा सबै सचिवालय सदस्य ९ जना हामी थियौं । ९ जना सचिवालयका सदस्यले एकमतले कमरेड वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भनेर निर्णय गरेका छौं । पार्टीको निर्णय त्यहि नै हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाइ गाैतमको सट्टामा सिफारिस गर्ने तयारी गरेको समाचार सार्वजनिक भएपनि पार्टीको निर्णयभन्दा बाहिर कोही पनि जान नमिल्ने नेता खनालले बताए । उनले भने, ‘यो पार्टीको निर्णय हो । पार्टीले गरेको निर्णय सबै नेता, कार्यकर्ता र सुभेच्छुकले मान्नुपर्ने हुन्छ ।’

सचिवालयले गरेको निर्णय कुनै हातलमा पनि नसच्चिने भन्दै वरिष्ठ नेता खनालले भने, ‘यो निर्णय सच्चिने कुनै सम्भावना छैन । हामीले वामदेव गौतमको निर्णय गरिसकेका छौं । पार्टीमा यसले केही पनि असर गर्दैन् । यो निर्णय लागू हुन्छ । लागू गरिनु पर्छ । प्रधानमन्त्रीले पनि यसलाई लागू गर्नु पर्छ । यसलाई लागू गर्नुको अर्को कुनै विकल्प छैन ।’

राष्ट्रिय राजनीति भनेको विकसित भइरहने भन्दै नेता खनालले त्यसका निम्ति नयाँ नयाँ आयामहरु आउने समेत बताए ।