तनहुँका मगर समुदायले ३८औं मगर दिवस मनाए

तनहुँका मगर समुदायले ३८औं मगर दिवस मनाए
बिहिबार, फाल्गुन १५, २०७६

तनहु । तनहुँका मगर समुदायले विविध कार्यक्रमको आयोजना गरी ३८औं मगर दिवस मनाएका छन् । नेपालको पुरानो आदिवासी समुदायमध्येको एक मानिने मगर समुदायले ‘सम्पूर्ण मगर एक हौं’ भन्ने उद्घोषका साथ यो दिवस मनाएका हुन् ।

पश्चिम नेपालको हिमाली भेगदेखि कालीगण्डकी नदीको वरपरको क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेको पाइन्छ । परम्परागत भाषा, भेषभूषा, संस्कृतिको धनि यो समुदायले फागुन १५ गतेलाई मगर दिवसका रुपमा मनाउँदै आएको छ ।

विक्रम संवत २०४० साल वैशाख ३१ गते नेपाल लाङ्घाली परिवार संघको केन्द्रीय कार्यकारिणी समितिको प्रथम बैठकले प्रत्येक वर्ष फागुन १५ गते लाई ‘लाङघाली दिवस’ को रुपमा मनाउने प्रस्ताव सर्वसमितिबाट पारित गरेको थियो ।

त्यही समयदेखि नेपाल मगर संघले ‘फागुन १५ गते’ लाई ‘मगर दिवस’ को रुपमा मनाउँदै आएको छ । मगर दिवसका अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले सार्वजनिक विदा पनि दिएको छ ।

२०६८ सालको जनगणना अनुसार तनहुँको कुल जनसंख्याको २८ प्रतिशत अर्थात १ लाख ५४ हजार ४९ मगर समुदायका जनसंख्या रहेको छ ।