सत्तारुढ नेकपामा शीर्ष नेताबीच नै चल्न थाल्यो जुहारी, औपचारिक कार्यक्रमबाटै आरोप प्रत्यारोपमा उत्रिए नेता

सत्तारुढ नेकपामा शीर्ष नेताबीच नै चल्न थाल्यो जुहारी, औपचारिक कार्यक्रमबाटै आरोप प्रत्यारोपमा उत्रिए नेता
बिहिबार, फाल्गुन १५, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताबीच नै आरोप प्रत्यारोप भएको छ । बाग्मती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै जुहारी चलेको हो । जसका कारण दोश्रो तहका नेताहरुले भने पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच औपचारीक कार्यक्रममै आरोप प्रत्यारोप चलेको छ । नेकपा बाग्मती प्रदेश कमिटिले गरेको प्रशिक्षण कार्यक्रममा नेकपा नेतृत्व नै आरोप प्रत्यारोपमा उत्रिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले पार्टीभित्रबाटै सरकारलाई घेराबन्दीमा पर्ने प्रयास भइरहेको भन्दै सचेत रहन चेतावनी दिए । अन्य पार्टीमा कुनै नेतालाई समस्या पर्दा सिंगै पार्टी एकताबद्ध हुने तर नेकपामा खुच्चिङ प्रवृत्ति बढेको भन्दै अध्यक्ष ओलीले उपयुक्त समयमा मुल्याङकन गर्ने चेतावनी दिए ।

कार्यक्रममा अर्का अध्यक्ष दाहालले ओली र आफु दुबै हिंसा त्यागि शान्तिपूर्ण रुपमा राजनीतिमा आएको दाबी गरे । नेकपाभीत्रको पछिल्लो विवाद जीवन्त पार्टीको आधार रहेको भन्दै सुझबुझका साथ समाधान गरिने अध्यक्ष दाहालले बताए ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र केहि दिन यता देखिएको विवादलाई समाधान गरी एकताबद्ध हुनुको विकल्प नरहेको बताए । विवादकै कारण पार्टी फुटको संघारमा जान्छ कि भन्ने चिन्ता कार्यकर्तामाझ बढेको भन्दै वरिष्ठ नेता नेपालले त्यसो हुन नदिने पनि बताए ।

कार्यक्रममा नेकपा बाग्मति प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले निरंकुश शासनको अन्त्य भएपनि पार्टी नेतृत्वमै पछिल्लो समय सामन्तवादी प्रवृत्ति बढ्दै गएको दाबी गरिन । कम्युनिष्ट पार्टीको विधि, विधान र पद्धती विपरित नै शीर्ष नेता लाग्नु सिंगो पार्टी पंतिको लागि दुर्भाग्य रहेको शाक्यको दाबी छ ।

नेकपा केन्द्रीय कमिटिको बैठकको निर्णय अनुसार नेकपाले सुरु गरेको विशेष अभियान अन्र्तगत बिहिबार बाग्मति प्रदेश कमिटिले अभियानको औपचारीक सुरुवात गरेको हो ।