खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका शेर्पासहित चारै जना जेल चलान

खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका शेर्पासहित चारै जना जेल चलान
शुक्रबार, फाल्गुन १६, २०७६

काठमाडौं- खैरो हिरोइन तथा विभिन्न लागुऔषधसहित पक्राउ परेका यती समूहका सदस्य नवाङ पासाङ शेर्पासहित चारै जना पूर्पक्षका लागि जेल चलान भएका छन् ।

विहीबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । नवाङ पासाङ यती समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका छोरा हुन् ।

प्रहरीले शेर्पा पक्राउ परेको विषयलाई करिब एक महिनासम्म गोप्य राखेको थियो । यसअघि पनि नवाङ पासाङ शेर्पालाई नक्कली पाइलट लाइसेन्स लिएको आरोप लागेको थियो । गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा शेर्पासहित राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले १०० मिलिग्राम खैरो हेरोइन, १० ट्याबलेट नाइट्रोजन, ६ पिस डाइजेपाम, नोफिन २ पिस, फेनगोजान ३९ पिस र १२ थान सिरिन्ज समेत बरामद गरेको थियो ।