यो वर्ष ५ लाख १० हजार विद्यार्थीले एसइई दिने, १९ सय ९५ परीक्षा केन्द्र

यो वर्ष ५ लाख १० हजार विद्यार्थीले एसइई दिने, १९ सय ९५ परीक्षा केन्द्र
फाइल तस्वीर
शुक्रबार, फाल्गुन १६, २०७६

काठमाडौं- ६ चैतदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ ।

परीक्षामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम विद्यार्थी मनाङबाट सहभागी हुँदै छन्  । काठमाडौंमा फारम भर्ने ३६ हजारभन्दा बढी छन् भने मनाङमा ५० विद्यार्थी मात्रै छन् ।

जिल्लाबाट आएका विवरणमा केहीको सिम्बोल नम्बर छुटेकाले विद्यार्थी संख्या बढ्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एसइईका लागि १९ सय ९५ परीक्षा केन्द्र तोकिएको जानकारी दिएको छ ।

गत वर्ष १० चैतबाट शुरु एसइईमा नियमिततर्फ ४ लाख ५० हजार एक सय ८६ र आंशिकतर्फ २४ हजार आठ सय १४ विद्यार्थी सहभागी भएका थिए ।

सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने भएपछि गत वर्षभन्दा यसपालि आंशिकतर्फ विद्यार्थी कम भएको हो ।