राष्ट्रियसभामा बामदेव नै मनोनित हुने प्रचण्डको दावी

बामदेवले प्रधानमन्त्री बन्ने सर्त छोडिसकेको खुलाशा

राष्ट्रियसभामा बामदेव नै मनोनित हुने प्रचण्डको दावी
शुक्रबार, फाल्गुन १६, २०७६

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने दावी गरेका छन्।

प्रेस सङ्गठन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने विश्वास व्यक्त गरेका हुन्।

‘प्रधानमन्त्रीले बामदेवजीलाई सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन, उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो,’ अध्यक्षफ दाहालले प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने पत्रकारको प्रश्नमा दाहालले भने, ‘म अहिले त्यतातिर जानै चाहन्न। मलाई विश्वास छ, उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन।’

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाई थियो।

अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै दाहालले छ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न सक्ने बताए।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुनेभए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाई थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिए।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको उनले बताए। दाहालले भने , ‘त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ। त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु।’

प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको बताउँदै उनले ‘मैले ल्याएर केके गरेँ भन्ने तपाईँहरुलाई थाहा नै छ नि! भनेर माधव नेपाललाई संविधानसभामा ल्याएको स्मरण गरे।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको उनले बताए।