नेपालको सुन्दरता प्रचार गर्न नसकेको भ्रमण वर्ष

नेपालको सुन्दरता प्रचार गर्न नसकेको भ्रमण वर्ष
शुक्रबार, फाल्गुन १६, २०७६

शान्ता लम्साल
काठमाडौं । सरकारले तामझामका साथ घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना नै नेपालका लागि सुखद रहेन ।

गत वर्षको तुलनामा यो वर्ष नेपाल भ्रमणमा आउने पर्यटकको आगमन दर नै घटेको छ । चीनबाट फैरिएको कोरोना भाइरसको संक्रमणले भ्रमण वर्षमा लक्ष्य अनुसार पर्यटक भित्र्याउन सक्नेमा पनि प्रश्न उठेको छ । सरकारी लक्ष्य अनुसार यो वर्ष २० लाख पर्यटक भित्रिएलान ?

पर्यटनलाई आर्थिक उपार्जनको आधार बनाउने दीर्घकालीन सोचसहित सरकारले अहिले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु भएको भ्रमणवर्षको पहिलो महिना भने सन्तोषजनक हुन सकेन । अघिल्लो वर्षको तुलनामा पर्यटकको आगमन दर २ प्रतिशतले घटेको छ ।

यसले भ्रमण वर्षमा २०लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुनेमा आशंका उब्जिएको छ । सन् २०१९ को जनवरीमा ८१ हजार २ सय ७५ जना पर्यटक भित्रिएकामा यो वर्षको जनवरीमा ७९ हजार ६ सय ८६ जना पर्यटकमात्रै नेपाल भित्रिएका छन् । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासले पर्यटकको आगमनदर घटेपनि सरकारले लिएको लक्ष्य पूरा हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको दाबी छ ।

भ्रमण बर्षको शुरुवाती दिनमा चीनबाट १३ हजार ३ सय ३ पर्यटक नेपाल भित्रिएका थिए । अहिले यो क्रम प्रायः ठप्प छ । तर, कोरोनाको संक्रमण कम हुँदै जाँदा पर्यटक बढ्ने र लक्ष्य पूरा गर्न सरकार तथा निजी क्षेत्र जुट्नुपर्ने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा बताउँछन् ।

पर्यटकको आगमन दर घट्नु कोरोना भाइरसको संक्रमण मात्र कारण नभई पूर्वाधारको विकास नहुनु मुख्य कारण रहेको जानकारहरु बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले पनि यो अवस्थामा ओरालो लागेको पर्यटनलाई क्रमस सुधार गर्नुपर्ने बताए ।

पर्यटन व्यवसायीले आफ्नो चार्डको रुपमा लिने गरेको नेपाल भ्रमण वर्ष नेपालका प्राकृति सम्पदाको प्रचार गरी आर्थिक उपार्जन गर्ने माध्यम हो । अनि विश्वमा नेपाललाई चिनाउन पनि यो वर्ष कामयावी हुनुपर्छ । त्यसका लागि नेपालको पर्यटनलाई मजबुद बनाउन सबै क्षेत्र एक हुन आवश्यक छ ।