सुनसँग जोडिएको कोरोनाको सम्बन्ध यस्तो, मूल्य अझै बढ्ने आँकलन

सुनसँग जोडिएको कोरोनाको सम्बन्ध यस्तो, मूल्य अझै बढ्ने आँकलन
शुक्रबार, फाल्गुन १६, २०७६

सन्तोष बिके थापा
काठमाडौं । अहिलेसम्मकै उच्च बनेको सुनको मुल्यमा उतारचढाव चलिरहेको छ । यहि साताको मंगलबार ८० हजार ३ सयमा कारोबार भएको सुन शुक्रबारसम्म आईपुग्दा ११ सयको फरक देखिएको छ । सुनको मुल्य स्थिर नहुनुमा कोरोना भाइरसले विश्व अर्थतन्त्रमा परेको प्रभावदेखि लगानीकर्ताको आर्कषणसम्म छ ।

लगातार उतारचढाव देखिदै आएको सुनको मुल्यमा यो साता नयाँ रेकर्ड कायम भएको छ । गत मंगलबार अहिलेसम्मकै उच्च ८० हजार ३ सयमा कारोबार भएको सुनको मुल्य शुक्रबारसम्म आईपुग्दा ७९ हजार २ सयमा कारोबार भएको छ । तेजाबी सुनको भने ७९ हजार ९ सयमा कारोबार भएको छ भने चाँदीको प्रतितोला ६ सय ८० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनचाँदीको मुल्य उतारचढावमा हुनु अन्र्तराष्ट्रिय बजारमा भइरहेको सुनको कारोबार, माग र लगानीकर्ताको आर्कषण सुनमा बढेपछि यसको बृद्धि संगै उतारचढाव पनि आएको हो ।

अन्र्तराष्ट्रियस्तरमै रिजर्भ बैंकहरुले ठुलो मात्रामा सुन किनेर राख्न थालेपछि सुनको भाउमा प्रभाव परेको हो । जसकाकारण सुनको मुल्यमा थोरै तलमाथि भएपनि सुनको मुल्य अझै बढ्न सक्ने बताउँछन् नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मानिकरत्न शाक्य ।

नेपालमा अहिले नेपाल राष्ट्र बैंकले विभिन्न व्यवसायिक बैंकहरुलाई सुनको आयात गर्नेदेखि व्यापारीलाई थोक रुपमा विक्रि गर्नेसम्मको काम गर्दै आएका छन् । व्यवसायीहरुले बैंकहरुसंग एक/एक किलोका दरमा किनेर कारोबार हुने गरेको छ ।

सुनको मुल्य निर्धारण गर्दा नेपाल राष्ट्र बैंकले बनाएको मापदण्ड अनुसार व्यवासायिक बैंकहरुले किनेको मुल्यमा शून्य दशमलव पाँच प्रतिशत मुनाफा राख्छन् भने उत्तिकै प्रतिशत व्यवसायिहरुको मुनाफा छुट्याउदै दिने गरेका छन् ।

अर्थात प्रतितोला सुनबाट व्यवसायी र बैंकहरुले ३ सयदेखि चार सयसम्म मुनाफा लिने गरेका छन् । यसरी निरन्तर उकालो चढीरहेको सुनको मूल्यबाट ग्राहकहरु त्रसित बन्ने अवस्था आएको छ ।

पछिल्लो अवस्थामा सुनको मूल्य उच्च हुनुका पछाडी विश्वव्यापी समस्या बनेको कोरोना भाइरसले समेत प्रभाव पारेको छ । कोरोना भाइरसले गर्दा विश्व अर्थतन्त्र असन्तुलन बनेपछि सुनको मूल्य पनि असन्तुलन बनेको हो ।