निर्दयी प्रहरी, नानी बोकेकी आमामाथि लाठीको वर्षा ? (भिडियो)

निर्दयी प्रहरी, नानी बोकेकी आमामाथि लाठीको वर्षा ? (भिडियो)
शुक्रबार, फाल्गुन १६, २०७६

पुष्कर खतिवडा

काठमाडौं । ड्युटीमा खटिने प्रहरी कर्मचारीकै क्रियाकलापबाट पटकपटक आलोचित बनेको नेपाल प्रहरी फेरि एक पटक बदनाम भएको छ । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले काखेनानी बोकेकी महिलामाथि अमानविय तवरले लाठिचार्ज गरेको भिडियो भाइरल बनेपछि प्रहरी आलोचित बनेको हो ।

सामाजिक सञ्जालमा शुक्रबार भाइरल भएको यो दृष्य हेर्नुहोस् । यस भिडियोमा एक प्रहरी निरीक्षक (इन्सपेक्टर)ले महिलामाथि लाठिचार्ज गरेपछि यो आलोचित बन्न पुगेको छ ।

बिहीबार ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरअगाडि जम्मा भएका महिला हटाउन खत्रीले प्रहरी प्रभाग भैंसेपाटीबाट प्रहरी बोलाए । खत्रीको घरमा पुगेका प्रहरीले भीड हटाउन लाठिचार्ज गर्‍यो । लाठिचार्ज हुन थालेपछि महिलाहरुको भागाभाग चल्यो । तर, सग्ली महिलाहरु जस्तै कुद्न सकिनन काखमा नानी बोकेकी हेमा श्रेष्ठ । अनि त प्रहरीले बर्षाइहाल्यो लाठी ।

हेर्नुहोस त कारुणीक दृश्य :

दृश्यमा देख्नुभयो नि प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले तिनै निरिह महिलालाई धकेल्दै पीटे । यो दृश्यले सबैलाई भाबुक बनाउयो । अनि प्रहरीलाई चाँही बदनाम । प्रहरी बदनाम हुनुको कारण यतिमात्र होइन ।

महिला प्रहरीको उपस्थिति भएपनि पौडेलले महिलामाथि जाइलाग्नुअघि महिला सहकर्मीलाई बोलाउने र उनीहरु आउनेसमयसम्म पर्खन धैयता राखेनन् । एक्कासी आफ्नो झोँक देखाइहाले । जबकि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ ।

यस क्रममा प्रहरीले ६ जना महिलालाई नियन्त्रणमा लिएको थियो । यसरी काखेनानी बोकेकी हेमामाथि लाठीचार्ज भएको भिडियो सर्वत्र आलोचित बनेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ललितपुर प्रहरी परिसरकी एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ ।