कंक्रिटले सुक्यो काठमाडौंको पानी, अब फुट्ला त मुहान ?

कंक्रिटले सुक्यो काठमाडौंको पानी, अब फुट्ला त मुहान ?
शुक्रबार, फाल्गुन १६, २०७६

सरस्वती श्रेष्ठ
काठमाडौं । अव्यवस्थित शहरीकरणका कारण काठमाडौंमा पानीको सतह घट्न थालेपछि यसको रिर्चाजको उपाय खोज्न थालिएको छ । उर्भर माटो भएको काठमाडौं एकाएक कंक्रिट भएपछि जमिनमुनीको पानीको सतह घट्न थालेको छ भने, पानीका मुहान पनि सुक्न थालेका छन् । यसको समाधानका लागि काठमाडौं महानगरपालिकाले ‘काठमाडौं रिचार्ज’ अभियान थालेको छ ।

प्राकृतिक सम्पदाको संरक्षण गर्दै पानीको मुहान संरक्षण गर्न काठमाडौं महानगरपालिकाले ‘काठमाडौं रिचार्ज’ अभियान थालेको छ । महानगरले यो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नै काठमाडौं उपत्यकामा पानीको सतह बढाउने गरी काठमाडौं रिचार्ज अभियान थालेको हो । यो अभियानमा सबै नगरबासीलाई सहभागी गराइने छ । आकाशे पानीकोलाई जमिनमुनि पुर्‍याउने गरी काठमाडौं रिचार्ज अभियान चलाइएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

महानगरले यो अभियानलाई प्रभावकारी बनाउन प्रत्येक घरले नियम पालना गर्नुपर्ने छ । अर्थात काठमाडौं रिचार्जको योजना नबनाउनेको घर निर्माणका लागि नक्सा पास नै नहुने महानगरले जनाएको छ । यो कार्यक्रम काठमाडौंको डल्लु आवास क्षेत्रमा कार्यान्वयनमा आइसकेको छ । अन्य क्षेत्रमा पनि तीव्र रुपमा कार्यान्वयनमा लैजाने प्रक्रिया शुरु भएको छ ।

काठमाडौं रिचार्जका लागि गोंगबुमा खाली रहेको करिब एक रोपनी जग्गामा २८, ३२ फिट गहिरो दुईवटा रिचार्ज वेल निर्माण गरिएको छ। डबलीसँगैको नर्सरीमा पनि यस्तै रिचार्ज वेल निर्माण गरिएको महानगरले जनाएको छ । उपत्यकाको झण्डै ८० प्रतिशत भूभाग कंक्रिटले ढाकेका कारण जमिनको माटोले वर्षाको पानीको स्पर्श गर्न नपाउँदा सतहमुनि पानीको मात्रा दिनप्रतिदिन घटिरहेको छ । यस्तो क्रम बढ्दै गए जमिन भासिने, घरहरु चर्किने जस्ता समस्याहरु आउन सक्ने विभागको भनाई छ ।

काठमाडौंमा रिचार्ज हुने मुख्य केन्द्र शिवपुरी, गोदावरी लगाएतका विभिन्न क्षेत्रहरुको संरक्षण गर्नु पर्ने बिज्ञहरुको सुझाव छ । काठमाडौं रिचार्ज काठमाडौंको प्राकृति संरक्षणका लागि भएकाले सबै जिम्मेवार भएर यो अभियानलाई सफल बनाउन एकजुट हुनुपर्ने आवश्यकता छ ।