नक्कली बीउ पीडित कृषकलाई सरकारले २० प्रतिशत राहत दिने

नक्कली बीउ पीडित  कृषकलाई सरकारले  २० प्रतिशत राहत दिने
शनिबार, फाल्गुन १७, २०७६

काठमाडौ । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ ।

गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए ।

ती जिल्लाका १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको धानका कारण १७ करोड बराबरको लागत खर्च नोक्सान भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलयले जनाएको छ । त्यसको न्यूनतम समर्थन मूल्य २३ करोड छ ।

पीडित किसानलाई राहत दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए । उनले अर्थमन्त्रालयमार्फत सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय हुँदै पालिकामा राहत रकम पठाइसकिएको र केही दिनभित्रै कृषकले राहत पाउने बताए ।