सरकारको लापरवाहीले जनक शिक्षा बर्सेनि बैंकलाई करोडौं ब्याज तिर्न बाध्य

सरकारको लापरवाहीले जनक शिक्षा बर्सेनि बैंकलाई करोडौं ब्याज तिर्न बाध्य
शनिबार, फाल्गुन १७, २०७६

काठमाडौं । सरकारले निश्चित विद्यार्थीको तथ्यांक पठाउँदा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आवश्यकभन्दा बढी पाठ्यपुस्तक छाप्नुपर्ने बाध्यता भएको छ । आवश्यकता भन्दा बढि पुस्तक छपाइले केन्द्रलाई बर्सेनि करोड रुपैयाँ ब्याजको भार पर्ने गरेको छ ।

सरकारले बढाएको विद्यार्थीको तथ्यांक अनुसार नै पाठ्यक्रम छाप्नुपर्ने र बर्सेनि २५ लाख थान पुस्तक स्टक रहने अवस्था आउने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

पाठ्यक्रम परिवर्तन भएको खण्डमा स्टक रहेका करोडौं मूल्यका पुस्तक कोडीको मूल्यमा बेच्नुपर्दा सरकारले घाटासमेत बेहोर्नुपरिरहेको केन्द्रले बताएको छ।

केन्द्रका अनुसार प्रत्येक शैक्षिक सत्रमा २५ लाख थान पाठ्यपुस्तक मौज्दातका रूपमा रहन्छ । शिक्षा मन्त्रालयले विद्यार्थीको आधिकारिक तथ्यांक नपठाउँदा पाठ्यपुस्तकहरू जनक शिक्षामा स्टकका रूपमा रहने गरेका हुन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शिक्षा मन्त्रालयको तथ्याकंका आधारमा पाठ्यपुस्तक छपाइको काम गर्छ । जसका कारण जनक शिक्षाले बर्सेनि १२ करोड रुपैयाँ बैंकसँग लिएको ऋणको ब्याज तिर्न बाध्य छ ।