एक सय दिनमा साढे ९ हजार खाल्डा पुरेको मन्त्री नेम्वाङको दाबी

एक सय दिनमा साढे ९ हजार खाल्डा पुरेको मन्त्री नेम्वाङको दाबी
शनिबार, फाल्गुन १७, २०७६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो एकसय दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्री भएको एक सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै नेम्वाङले ९ हजार ५ सय खाल्डा पुरेको दाबी गरे ।

एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सयवटा खाल्डाखुल्डी पुर्ने कार्य भएको उनले बताए । खाल्डाखुल्डी र धुलोरहित सडक बनाउने योजनामा प्राप्त भएको महत्वपूर्ण सफलता भएको उनको दाबी छ ।

एक सय दिनको अवधिमा मर्मत समेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको मन्त्री नेम्वाङले बताए । मध्यपहाडी राजमार्ग अन्तर्गत १८ किलोमिटर सडक कालोपत्रे भएको, ६ वटा पुल निर्माण भएको र हुलाकी राजमार्ग अन्तर्गत ४८ किलोमिटर सडक कालोपत्रे भएको उनले बताए ।

मन्त्रालयका अनुसार अहिलेसम्म सडक विभागबाट सञ्चालित योजनाहरुमा २४ दशमलव १३ प्रतिशत पूजिँगत खर्च भएको छ । लामो समयसम्म रुग्ण रहेका ठेक्काहरुलाई व्यवस्थापनका लागि सार्वजनिक खरिद नियमावदी २०६४ मा नवौं संशोधन भएपछि करिब १५ सय वटा ठेक्काको म्याद थप गरिएको छ । मन्त्रालय अन्तर्गत अहिलेसम्म कुल २२ दशमलव ८८ प्रतिशत पूजिगततर्फको वित्तिय प्रगति रहेको छ ।