इष्टर्न रिजन क्रिकेट, नेपाल मलेसियासँग २२ रनले पराजित

इष्टर्न रिजन क्रिकेट, नेपाल मलेसियासँग २२ रनले पराजित
शनिबार, फाल्गुन १७, २०७६

काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको छ । मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको नेपालले सबै विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो ।

१९ दशमलव ४ ओभरमा नेपालले १० विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सकेको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले दोहोरो अंकको स्कोर बनाएपनि जितका लागि पर्याप्त भएन ।

नेपालका लागि कप्तान मल्ल र ऐरीले समान ३८ रन बनाए । सर्राफले १९ रनको योगदान गरे । पारश खड्का ९ रन, विनोद भण्डारी ७ रन र करण केसीले २ रन जोडे ।

त्यसअघि थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ र अभिनाश बोहराले २ विकेट लिए । सन्दीपले मलेसियाको पहिलो विकेट लिएपछि टी २० क्रिकेटमा नेपालबाट १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बने ।