लिभरपुलको अपराजित यात्रामा ब्रेक, वाट्फोर्डसँग पराजित

लिभरपुलको अपराजित यात्रामा ब्रेक, वाट्फोर्डसँग पराजित
आइतवार, फाल्गुन १८, २०७६

काठमाडौं- इङ्लिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल वाट्फोर्डसँग पराजित भएको छ । वाट्फोर्डसँग ३-० ले पराजित भएसँगै लिभरपुलको अपराजित यात्रामा समेत विराम लागेको छ।

हारसँगै लिभरपुलको यस सिजनमा अपराजित रहँदै लिग उपाधिमा कब्जा जमाउने योजना सकिएको छ।

लिभरपुललाई पराजित गर्ने क्रममा इस्माइला सारले दुई गोल गरेका थिए भने अर्को एक गोल वाट्फोर्डका कप्तान डिनीले गरेका थिए।

लिभरपुललाई जारी सिजनमा पहिलो हार चखाउने क्रममा सारले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरे भने दोश्रो गोल खेलको ६० औं मिनेटमा गरे। त्यसपछिको तेश्रो गोल कप्तान डिनीले खेलको ७२ औं मिनेटमा गरे।

लिभरपुल २८ औं खेलमा आएर पराजित भएको हो। पछिल्ला १८ खेल लगातार जितेको लिभरपुलले यो हारबाट एउटा कीर्तिमान बनाउने अवसर पनि गुमाएको छ। हिजोको खेल जितेको भए लिभरपुलले प्रिमियर लिग इतिहासमा सर्वाधिक खेल जित्ने कीर्तिमान बनाउने थियो।

हारपछि पनि लिभरपुल २८ खेलबाट ७९ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ।