कोरोनाको त्रासले दुई चलचित्रको प्रदर्शन स्थगित 

कोरोनाको त्रासले दुई चलचित्रको प्रदर्शन स्थगित 
आइतवार, फाल्गुन २५, २०७६

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई वटा नेपाली चलचित्रको प्रदर्शन स्थगित गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट सतर्कता अपनाउन  अपिल गरेसँगै हलिउडले केही फिल्मको रिलिज रोकेको छ । बलिउडका सिनेमा पनि अब रिलिज गर्ने कि नगर्ने भन्ने अन्योलमा निर्माता एवं वितरक छन् ।

कोरोनाप्रति सचेतना अपनाउँदै दर्शक सिनेमा हलमा आउने क्रम घटेको छ । यसै क्रममा दुई साता यता प्रदर्शनमा आउने भनिएका नेपाली चलचित्रको प्रदर्शनी स्थगित गरिएको छ ।

यही ३० फागुनबाट रिलिज गरिने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’को रिलिज हाललाई स्थगित गरिएको यो चलचित्रका निर्देशक सुदर्शन थापाले बताए । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्देशक थापाले यो चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी दिएका हुन् ।

‘म यस्तो गीत गाउँछु २’मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’लाई २३ फागुनमा रिलिज गर्ने भनिए पनि २३ फागुनमा बलिउडको फिल्म ‘बागी ३’ रिलिज भएपछि ‘म यस्तो गीत गाउँछु’को प्रदर्शन मिति सारेर ३० फागुन पुर्‍याइएको थियो ।

यसैबीच निर्माता तथा निर्देशक फूलमान बलले  आफ्नो चलचित्र नीरफूलको प्रदर्शन ७ चैतमा नगर्ने भएका छन् । यसै साता ट्रेलर रिलिज गरेर यो चलचित्र ७ चैतमा रिलिज हुने घोषणा गरिएको थियो ।

यस अघि ३० फागुनमै रिलिज हुने भएिको यो फिल्म वितरक र निर्माताको सल्लाहअनुसार ७ चैतलाई सारिएको थियो ।

कोरोनाको त्रासका कारण सिनेमा हलमा दर्शक नआउने भएपछि अब  चैत ७ मा रिलिज नगर्ने निर्णय गरिएको उनले जानकारी दिए ।