आहा ! रारा गोल्डकप : आर्मी र संकटा भिड्दै

आहा ! रारा गोल्डकप : आर्मी र संकटा भिड्दै
मङ्लबार, फाल्गुन २७, २०७६

कास्कि–पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल अन्तर्गत आज आर्मी र संकटा भिड्दैछन ।

आज हुने अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्न लागेका हुन ।

खेल पोखरा रंगशालामा दिउँसो २.३० बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

साविक उपविजेता टिम आर्मी यस पटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ । अघिल्लो संस्करणमा आर्मी फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

आहा रारा गोल्डकपमा आर्मीले १५ संस्करण खेलिसकेको छ । तर, आर्मीले उपाधि जित्न सकेको छैन । आर्मी २०६५, ६६, ७२ र ७५ सालमा उपविजेता बनेको थियो ।

आर्मीले यस प्रतियोगितामा २८ खेल खेल्दा ३९ गोल गरेको छ भने २५ गोल खाएको छ । आर्मीले पाँच टाइब्रेकर खेलमा भने पाँचै खेल हारेको छ ।

संकटाले भने चार संस्करण खेलेको छ । जसमा ७ खेल खेलेको हो । संकटाले पाँच गोल गर्दा ७ गोल खाएको छ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।