धादिङमा तीन सय जन्ती बेहुलीबिना रित्तै फर्किए

धादिङमा तीन सय जन्ती बेहुलीबिना रित्तै फर्किए
सांकेतिक तस्वीर
बुधबार, फाल्गुन २८, २०७६

धादिङ । धादिङमा ११ वटा गाडीमा आएका ३ सय जन्ती रित्तै फर्किएका छन् ।

बेहुलीको उमेर नपुगेको भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेपछि ३ सय जन्ति विवाह मण्डपमै नपुगी रित्तै फर्किएको हो ।

यो धादिङको गजुरी गाउँपालिका वडा नं.६ मिलनटारमा घटेको घटना हो । धुर्व सुवेदीले आफ्नो १८ वर्षिय छोरी सपना सुवेदीको गल्छी गाउँपालिका ६ बाहुन पलाङका २९ वर्षिय कविराज अधिकारीसँग विवाह गरिदिँदै थिए । तर, उनले आफ्नो छोरीको कन्यादान गर्न पाएनन् ।

स्थानीय आमा समूहले उमेर नपुगेको छोरीको विवाह नगरिदिन मौखिक रुपमा बारम्बार अनुरोध गरिरहेका थिए ।

तर, बेहुलीका आमाबुबाले वेवास्था गरे । आमा समूहले गजुरी इलाका प्रहरीमा विवाह रोक्न उजुरी दिए । अन्ततः विवाहको दिन बेहुलालाई बेहुलीको घरसम्म आउन नपाई फर्कादिएको छ ।

माइतीपक्षलाई विवाह रोक्न आदेश दिएर प्रहरीले बेहुला पक्षका जन्तीलाई आदमघाट स्थित शसस्त्र प्रहरी बेस क्याम्पबाट नै फर्कादिएका छन् ।